पब्जीको गुनासोमाथि छानबिन गर्न प्रहरीलाई निर्देशन

पब्जीबाट उब्जेका समस्या र गुनासामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले आफू मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिएका छन् ।

काठमाडौं । अनलाइन भिडियो गेम प्लेयर्स अन्नोन्स ब्याटल ग्राउन्ड अर्थात् पब्जीले बालबालिकामाथि नराम्रो असर पुर्याएको जनगुनासो बढेपछि प्रहरीले पब्जीको समस्याबारे अनुसन्धान थालेको छ ।

पब्जीबाट उब्जेका समस्या र गुनासामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले आफू मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिएका छन् ।

‘पब्जीका कारण बालबालिकामा विभिन्न समस्या आएको भन्ने मौखिक उजुरी धेरै आएका छन्, यसको अवस्था बुझ्न मातहतलाई निर्देशन दिइएको छ,’ प्रवक्ता सुवेदीले क्यापिटल नेपालसँग भने ।

पब्जीको गुनासोबारे काठमाडौं परिसरले अनुसन्धान थालेको पनि प्रवक्ता सुवेदीले जानकारी दिएका छन् ।

पब्जीका कारण खेल्ने मानिसमा नकारात्मक मानसिक प्रभाव पर्नुका साथै विद्यार्थीहरुमा लतका कारण पढाइप्रति बेवास्ता बढेको गुनासा व्यापकरुपमा प्रहरीसम्म पुगेका छन् ।

पब्जीका कारण नेपाल, भारतलगायत विभिन्न मुलुकहरुमा धेरै दुघर्टनाका खबरहरु आइसकेका छन् ।