प्राधिकरणको ३ करोड ४४ लाख ७४ हजार ३ सय ३० रुपैयाँ आर्थिक सहयोगमा भवनको पुनर्निर्माण भएको हो । २०७४ असार २ गते भवन निर्माणको काम सुरु भएको थियो ।
काठमाडौं । महानगरीय प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन् ।
प्राधिकरणको ३ करोड ४४ लाख ७४ हजार ३ सय ३० रुपैयाँ आर्थिक सहयोगमा भवनको पुनर्निर्माण भएको हो । २०७४ असार २ गते भवन निर्माणको काम सुरु भएको थियो ।
सोमबार अपरान्ह प्रभागको पुनर्निर्मित भवन परिसरमा आयोजित उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नागरिकको शान्ति सुरक्षाका अतिरिक्त भूकम्पलगायतका विपद्मा उद्धार तथा राहतका लागि क्रियाशील हुनुपर्ने सुरक्षा निकायका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणमा प्राधिकरणले जोड दिएको बताए ।
उनले पुनर्निर्मित सुविधासम्पन्न भवनबाट जनतालाई शान्ति सुरक्षा दिने कार्यमा टेवा मिल्ने तथा यसबाट समुदाय–प्रहरी साझेदारीमा पनि बढोत्तरी हुने विश्वास पनि व्यक्त गरे । शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले काठमाडौं उपत्यकको एउटा संवेदनशील नाका क्षेत्रमा रहेको प्रहरी कार्यालयले प्रभावकारी सेवा दिने कार्यमा पुनर्निर्मित भवन निकै सहयोगी हुने धारणा राखे ।
प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालय नक्सालका प्रहरी नायब महानिरीक्षक लोकेशचन्द्र सिंहले क्षतिग्रस्त प्रहरी कार्यालय निर्माणमा सहयोग गरेकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई धन्यवाद दिए । उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीको पनि उपस्थिति थियो ।
नेपाल प्रहरीका अनुसार पुनर्निर्माण गर्नुपर्ने १३९ भवन संरचनामध्ये ५१ वटा सम्पन्न भइसकेका छन् ।