आईएमई जनरल इन्स्योरेन्सको विद्यार्थी बिमा पोलिसी सार्वजनिक

बिमाले सम्बन्धित विद्यार्थीका साथै अभिभावकलाई पनि सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो बिमा पोलिसीमा बिमाकर्ताले मासिकरुपमा ८१ रुपयाँ प्रिमियम तिर्नु पर्नेछ ।

काठमाडौं । आईएमई जनरल इस्योरेन्स कम्पनीले विद्यार्थीलाई लक्ष्य गरी आईजीआई विद्यार्थी बिमालेख पोलिसी जारी गरेको छ । कक्षा एकदेखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई बिमामा समावेश गराउने उद्देश्यले कम्पनीले यस्तो पोलिसी ल्याएको हो ।

उक्त बिमा पोलिसीले कुनै विद्यार्थी दुर्घटना भई पर्न जाने आर्थिक भारबाट मुक्त गराउने उद्देश्य रहेको कम्पनीका अध्यक्ष हेमराज ढकालले क्यापिटल नेपाललाई जानकारी दिए ।

आईएमई जनरल इन्स्योरेन्स विद्यार्थी बिमालेख बुधबार एक कार्यक्रमबीच कम्पनीका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले जारी गरेका हुन् ।

बिमाले सम्बन्धित विद्यार्थीका साथै अभिभावकलाई पनि सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो बिमा पोलिसीमा बिमाकर्ताले मासिकरुपमा ८१ रुपयाँ प्रिमियम तिर्नु पर्नेछ ।

बिमित विद्यार्थीको दुर्घटनाका कारण मुत्यु भएमा एक लाख रुपैयाँ र अभिभावकमध्ये कुनै एक जनाको मृत्यु भए पाँच लाख रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै बिमित विद्यार्थी स्थायीरुपले पूर्ण अपाङ्ग भए बिमाङ्क रकमको तीन सय प्रतिशत अर्थात् तीन लाख रुपैयाँ प्रदान गरिने र अभिभावकको हकमा शतप्रतिशत पाँच लाख नै दिइने कम्पनीले बताएको छ र

साथै अङ्गभङ्ग भएको अवस्थामा बिमित विद्यार्थीले सय प्रतिशत नै प्राप्त गर्ने र अभिभावकको हकमा पचास प्रतिशत दुई लाख ५० हजार प्र्रदान गरिने कम्पनीले बताएको छ । विद्यार्थी अस्थायीरुपमा पूर्ण अशक्त भए दुई महिनासम्मका लागि कम्पनीले मासिक दस हजारका दरले शैक्षिक शुल्कबापत भुक्तान गरिने बताइएको छ ।

दुर्घटनाका कारणले विद्यार्थीले औषधोपचार गर्नु परेमा बिमाङ्क रकमको २५ प्रतिशत अर्थात् २५ हजारसम्मको औषधोपचार खर्च दिने बताएको छ । बिमित विद्यार्थी बिरामी भएर अस्पताल भर्ना गर्नु परेमा बिमाङ्क रकम ५० हजार कायम गरेको कम्पनीले बताएको छ ।