बारा-पर्साका हावाहुरी पीडितलाई गन्डकी प्रदेशको एक करोड सहयोग

गन्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरीबाट पीडित परिवारलाई रु एक करोडको आर्थिक सहयोग गर्ने भएको छ ।

कास्की । गन्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरीबाट पीडित परिवारलाई रु एक करोडको आर्थिक सहयोग गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको विहीबार बसेको मन्त्रिपरिषदको बैठकले पीडित परिवारका लागि विपत् व्यवस्थापन कोषबाट सो रकम सहयोग गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

उक्त सहयोग रकम प्रदेश नम्बर २ को सरकारको खातामा जम्मा गरिने र सो रकमबाट पीडित परिवारको आवास निर्माणमा खर्च हुने उनले बताए । प्रदेश नम्बर २ को बारा–पर्सा जिल्लामा चैत १७ गतेको हावाहुरीबाट ठूलो परिमाणमा जनधनको क्षति भएको थियो । रासस