नदीबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भए पनि तस्करले दिनदहाडै नदीबाट दैनिक लाखौँको ढुङ्गा, गिट्टी दोहन गरिरहेको स्थानीय सुरज केवटको भनाइ छ ।
नवलपरासी । पश्चिम नवलपरासीको नारायणी नदीबाट धमाधम नदीजन्य पदार्थको दोहन गरि अवैध रुपमा भारत निकासी हुने गरेको छ। नारायणी नदीबाट अवैधानिकरूपमा नदीजन्य सामग्री उत्खनन गरेर भारत निर्यात भइरहँदासमेत सम्बन्धित सरोकारवा निकाय मौन रहेको स्थानीयवासीको आरोप छ । नदीबाट निकालिएका नदीजन्य पदार्थ खुला सिमानाका कारण धमाधम भारत निकासी भइरहेको छ । नदीबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भए पनि तस्करले दिनदहाडै नदीबाट दैनिक लाखौँको ढुङ्गा, गिट्टी दोहन गरिरहेको स्थानीय सुरज केवटको भनाइ छ ।
तस्करले डुङ्गा प्रयोग गरेर नारायणी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा झिकी ट्र्याक्टरमा लोड गरी पक्लिहवा, कुडिया, नर्सहीलगायतका स्थानमा घाटगड्डी गरेर राख्ने गरेका छन् । नारायणी नदीबाट उत्खनन गरिएको नदीजन्य समाग्री विशेषगरी नारारायणी नदी आसपास क्षेत्रसहित ठाडीघाट रामनगर, नर्सही, कुडिया, पक्लीहवा, गुठीप्रसौनीमा घाटगड्डी गर्ने गरेको पाइन्छ ।
नदीबाट नदीजन्य सामग्री चोरी बढ्दै गएकाले आवश्यक ठेक्का प्रक्रियाका लागि प्रारम्भिक वातावरणीय परीक्षणको काम अघि बढाइएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे बताउनुहुन्छ । घाटगड्डी गरिएको नदीजन्य सामग्री आफ्नो अनकूलताअनुसार तस्करले नेपाली बजार साथै नजिकको भारतीय बजारसम्म पनि बिक्री वितरण गर्ने गरेका छन् ।
तस्करले सोझै नदीबाट उत्खनन गरेर उक्त स्थानमा घाटगड्डी गरेर राखेको पाइए पनि सम्बन्धित निकायले बेवास्ता गर्दा नियन्त्रणमा समस्या भएको हो । नारायणी नदीमा नदीजन्य पदार्थको चोरीसम्बन्धी समस्या रहे पनि स्थानीय प्रशासनले यसको नियन्त्रण र रोकथामको काम गर्दै आइरहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने बताउँछन् ।
अहिले सबै खोला नाकाको सबै अधिकार जिल्ला समन्वय समितिमा निहित रहेकाले अब जोखिममा रहेको गण्डक बाँधअन्तर्गत ठोकर नं १२, १३ र १४ सुरक्षित गर्नु अहिलेको आश्यकता रहेको लामिछानेको भनाइ छ । तस्करले नदीबाट उत्खनन गरेको नदीजन्य सामग्रीलाई नेपालमा मात्र होइन, छिमेकी भारतको बहुवार, बसैयालगायतका स्थानमा घाटगड्डी गरेर राखेको पाइन्छ । जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद रायले प्रारम्भिक वातावरणीय परीक्षणपश्चात स्थानीय तहले ठेक्का लगाउने बताए ।
नेपालमाभन्दा भारतमा दोब्बर रकममा बिक्री हुने भएकाले दैनिक लाखौँको नदीजन्य पदार्थ भारत जाने गरेको छ । सबैभन्दा बढी पक्लिहवाको ठाँडीघाटबाट तस्करी हुने गरेको छ । पश्चिम नवलपरासी जिल्ला समन्वय समितिले अनुगमनका क्रममा सुस्ता क्षेत्रमा अवैधरूपमा नदीजन्य पदार्थ सङ्कलन गरेर राखेको पाइएकाले अनुगमनलाई तीव्रता दिएको बताएको छ । रासस