अधिकांश मासु पसल विनादर्ता र मापदण्ड विपरीतका

महालेखा परीक्षको ५६ औं प्रतिवेदनका अनुसार, अनुगमन गरीएकामध्ये ६० प्रतिशत मासु पसल दर्ता नभइ सञ्चालनमा रहेको पाइएको हो । त्यस्तै, ३०८ अर्थात ६४ प्रतिशत मासु पसल मापदण्ड विपरीत सञ्चालन रहेको महालेखाको प्रतिवेदनमा भनिएको छ ।

काठमाडौं । मुलुकभरका अधिकांश मासु पसल बिना दर्ता र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका निकायले यसबर्ष गरेको अनुगमनमा ४८४ मध्ये २८८ मासु पसल बिनादर्ता सञ्चालन भएको पाइएको हो ।

महालेखा परीक्षको ५६ औं प्रतिवेदनका अनुसार, अनुगमन गरीएकामध्ये ६० प्रतिशत मासु पसल दर्ता नभइ सञ्चालनमा रहेको पाइएको हो । त्यस्तै, ३०८ अर्थात ६४ प्रतिशत मासु पसल मापदण्ड विपरीत सञ्चालन रहेको महालेखाको प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, विभागबाट ५६० खानेपानी नमुना परिक्षण गर्दा १४० नमुना कैफियत देखिएकोमध्ये ५४ नमुना कारबाहीको लागि मुद्धा दायर भएका छन् । विभाग र मातहतका कार्यालयले समेतबाट २ हजार ८१३ विभिन्न खाद्य वस्तुहरुको नमुना संकलन गरी परिक्षण गरिएकोमा ३५४ अर्थात १३ प्रतिशत वस्तु स्वीकृत स्तर अनुसार नभएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । खाद्यवस्तुको गुणस्तर स्वीकृत स्तरभन्दा तल रहनुले मान स्वास्थ्यमा असर पर्ने जोखिम बढ्ने महालेखाको प्रतिवेदनको सारांश छ ।

कम गुणस्तरीय सामग्री उत्पादन बिक्रि गर्ने मिसावट गर्ने र मापदण्ड पुरा नगर्ने उपर कानुनबमोजिम कारबाही हुनुपर्ने व्यवस्था भएपनि कारबाही नगरेको पाइएको छ । महालेखाले अनुगमन पश्चात गुणस्तरमा असर गर्ने उपर कानुबमोजिम कारबाही गर्नुपर्ने सुझाव समेत दिएको छ ।