समस्याग्रस्त १० सहकारीले मात्रै जनताको १५४८ करोड सावाँब्याज भुक्तानी गर्न बाँकी

उक्त संख्यामध्ये बचत तथा ऋण सहकारी संस्था १३ हजार ५७८ र बहुउद्देश्यीय सहकारी संस्था ४ हजार ३७१ समेत १७ हजार ९४९ संस्थाको सेयर पुँजी ८९ प्रतिशत तथा निक्षेप ९३ प्रतिशत छ ।

काठमाडौं । व्यवस्थापनको गतल क्रियाकलापले समस्याग्रस्त भएका १० सहकारी संस्थाले अर्बौ रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ । ती सहकारीले १५ अर्ब ४८ करोड ३९ लाख रुपैयाँ निक्षेप र अन्य दायित्व भुक्तानी गर्न बाँकी रहेको महालेखा परीक्षकको कार्यलयले जनाएको छ ।

यसमध्ये सबैभन्दा बढी ओरेन्टल सहकारी संस्थाको छ । समस्याग्रस्त सहकारीको छानविन गर्न गठित जांँचवुझ आयोग, २०७० को प्रतिवेदनमा यस्ता संस्था १३० रहेको उल्लेख छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको २०७५ माघ ५ को प्रतिवेदनअनुसार समस्याग्रस्तमध्ये १० सहकारीको ब्याजसहितको कुल दायित्व १५ अर्ब ४८ करोड ३९ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ ।

समस्याग्रस्त सहकारी संस्थामा रहेको सर्वसाधारणको बचत, सदस्यहरुको सेयर, सरकारलाई बुझाउनुपर्ने कर, बैङ्क तथा वित्तीय संस्थाको कर्जा, अपार्टमेन्ट बुकिङकर्ताले बुझाएको रकमको छानबिन गरी रकम फिर्ता गरेको छैन । समस्याग्रस्त सहकारी संस्था र सोको दायित्व सम्बन्धमा उचित निर्णय गरी समस्या समाधान गर्न महालेखाले सरकारलाई सुझाएको छ ।

सेयर तथा निक्षेप लगानी

अस्तित्वमा रहेका बचत तथा ऋण, बहुउद्देश्यीय कृषि र तरकारी तथा फलफूलसमेत ३४ हजार ५१२ संघ संस्थामा सेयर पुँजी २ खर्ब ७३ अर्ब १७ करोड रुपैयाँ छ । यस्तै निक्षेप ३ खर्ब २ अर्ब १६ करोड र ऋण लगानी २ खर्ब ७३ अर्ब ७१ करोड रुपैयाँ रहेको देखिन्छ । उक्त संख्यामध्ये बचत तथा ऋण सहकारी संस्था १३ हजार ५७८ र बहुउद्देश्यीय सहकारी संस्था ४ हजार ३७१ समेत १७ हजार ९४९ संस्थाको सेयर पुँजी ८९ प्रतिशत तथा निक्षेप ९३ प्रतिशत छ ।

संस्थामा प्राप्त भएको निक्षेपको ९०.५८ प्रतिशत ऋण लगानी गरेका छन् । सहकारी संस्थाहरुमा रहेको सेयरपुँजी, निक्षेप तथा लगानीको सुरक्षाको लागि बिमालगायतका सुरक्षा उपायहरुको अवलम्बन गरी न्यून आय भएका वर्गको सेयर पुँजी, निक्षेप तथा लगानीलगायतको रकम सुरक्षित बनाउनुपर्ने सुझाव महालेखाको छ ।

८३ सहकारीका सञ्चालक फरार

साना तथा न्यून आय भएका बचतकर्ताहरुबाट सङ्कलित निक्षेप तथा सेयर रकम संस्थाभित्रका सञ्चालक तथा व्यवस्थापकहरुले लिई फरार भएमा उनीहरुलाई दण्डित गरी हिनामिना रकम असुल गरी बचतकर्ता तथा सेयरधनीहरुलाई फिर्ता गराउनुपर्ने व्यवस्था छ । सहकारी विभागबाट प्राप्त विवरणअनुसार ८३ सहकारी संस्थाका सञ्चालक फरार रहेको मध्ये ५१ संस्थाको १२ करोड २१ लाखमात्र दायित्व यकिन गरेको र अन्यको अवस्था खुलेको छैन ।

विभागले सहकारी संस्थाहरुमा निक्षेप सङ्कलनकर्ता र बचतकर्ताहरुको सेयर तथा निक्षेप रकमको सुरक्षाका उपाय अवलम्बन गरी भगौडा सञ्चालकको खोजी गरी प्रचलित कानुनबमोजिम दण्डित तथा हिनामिना रकम असुल गर्नेतर्फ कारबाही हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरेकोमा हालसम्म कानुनी कारबाही गरेको छैन ।