सरकारी जग्गामा व्यक्तिले घर बनाउने, सडक बनाउने, उद्योग खोल्ने जस्ता कार्य भइरहेको भए पनि त्यसलाई रोकथाम नहुनुले त्यसो गर्नुमा सरकारी अधिकारी नै सक्रिय रहेकोसमेत देखिएको छ ।
काठमाडौं । देशका ७० जिल्लाका विभिन्न स्थानमा रहेको सरकारी जग्गा हडपिएको तथ्य फेला परेको छ । भू–माफियाले सरकारी जग्गा मिचेर व्यापारिक केन्द्रदेखि गाँउ बस्ती नै बनाएका छन् । सरकारी जग्गामा व्यक्तिले घर बनाउने, सडक बनाउने, उद्योग खोल्ने जस्ता कार्य भइरहेको भए पनि त्यसलाई रोकथाम नहुनुले त्यसो गर्नुमा सरकारी अधिकारी नै सक्रिय रहेकोसमेत देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार देशभरि सरकारी गुठीको पहाडमा ५ लाख ६१ हजार ९९० रोपनी र तराईमा ६६ हजार ३३० बिगाहा जग्गा छ ।
महालेखाले ७१ सालमा फेला पारेको रेकड हो यो । तर, त्यसयता के कति जग्गा कसले हड्प्यो भन्ने रेकर्डसमेत भेटिँदैन । यसो हुनुमा सरकारी अधिकारी र भूमाफियाको बलियो जालो सक्रिय रहेको महालेखाको प्रतिवेदनले पुष्टि गरेको छ । त्यसरी सरकारी जग्गा हराउनु र हडपिनुमा गुठी संस्थानदेखि मालपोतका कर्मचारीहरुको मिलोमतो रहेको भेटिएको छ । (गुठी) सरकारी जग्गाको लगत तयार गर्ने, संरक्षण र सम्बर्द्धन गर्ने, अतिक्रमण हुन नदिनेका साथै व्यवस्थित गर्ने जिम्मा लिएर बसेको गुठी संस्थानकै कमजोरीका कारण यस्तो अवस्था आएको महालेखाको प्रतिवेदनले जनाएको छ ।
महालेखाको प्रतिवेदनले सरकारी जग्गाको अभिलेख व्यवस्थापनमा चरम लापरवाही देखिएको जनाएको छ । त्यस्तै गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालयको अवस्था दयनीय रहेकोसमेत महालेखालको प्रतिवेदनले जनाएको छ । काठमाडौंको भद्रकालीमा रहेको कार्यालय अत्यन्तै जीर्ण भएको र त्यहाँ भएका पुराना लालमोहर, सनद, सवाल, ताम्रपत्र, लगत, मोठ, स्रेस्तालगायतका अभिलेख रहेको सुरक्षामा ध्यान नदिइएको प्रतिवेदनमा उल्लेख छ । कार्यालयको भवन जीर्ण अवस्थामा रहेकाले ताम्रपत्र, स्वर्णपत्र आदिसमेत रहेका यस्ता महत्त्वपूर्ण अभिलेखलाई प्रकाश, आर्द्रता र तापक्रम मिलाई व्यवस्थित गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।
मिचिएको जग्गा फिर्ता ल्याउन सरकार उदासीन
काठमाडौका दर्जनौं ठाँउमा रहेका सरकारी जग्गा मिचिएको भन्दै मिचिएका जग्गा फिर्ता ल्याउनेतर्फ कुनै ध्यान नदिनुले जग्गा हराउनु र मिचिनुमा सरकारी अधिकारीकै मिलोमतो भएको महालेखाको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार काठमाडौँंको बबरमहलस्थित केदारेश्वर महादेव गुठी तैनाथी कि.नं. १८४, सिट नं. ११४५–२० को २ रोपनी १४ आना क्षेत्रफलको जग्गा हडपिएको छ । महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय युवा परिषद्लाई बिक्री गर्नको लागि पत्राचार तथा मूल्याङ्कनसमेत भएको जग्गा बिक्री भएको छैन,’ जग्गाको उत्तरतर्फ स्थानीय बासिन्दाले निजी प्रयोजनका लागि बाटो खोलेको देखिन्छ ।’ अतिक्रमण गरिएको उक्त जग्गामा २/३ टहरा बनाएकोसमेत प्रतिवेदनमा उल्लेख छ । जग्गा अतिक्रमण गरी टहरा बनाउँदासमेत जिम्मेवार निकाएको ध्यान नजानुमा केही शंका उत्पन्न भएको प्रतिवेदनले जनाएको छ ।
त्यसैगरी काठमाडौंको कमलादी गणेश मन्दिर परिसरमा रहेका सरकारी गुठीका जग्गामा बनेका घर तथा टहरामा चरम अनियमितता भएको देखाएको छ ।
सरकारी जग्गा मिचेर पक्की घर !
त्यसैगरी काठमाडौं महानगरपालिका वडा नं. ७, गुह्येश्वरीस्थित गुह्येश्वरी सिन्दुर चन्दन तैनाथी गुठी जग्गा कि.नं. ८४ को ४ रोपनी ९ आना २ पैसा २ दाम जग्गा अतिक्रमणमा परेको छ । उक्त जग्गाको दुवैतर्फ बाटो बनाइएको, पूर्वतर्फ अतिक्रमण गरी करिब १५/१६ साना ठूला पक्की घर/टहरा निर्माण गरिएको, पश्चिमतर्फ टोल सुधार भवन र खेलमैदान बनाइएको छ । महालेखाको प्रतिवेदनअनुसार अब त्यो स्थानमा १ रोपनी २ आना जग्गामात्र बाँकी छ र, त्यो पनि अतिक्रमण हुने देखीएकोसमेत बताइएको छ ।
उक्त क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने निणर्य २०७४ चैत्र १ गते गरिए पनि उक्त कार्यले पूर्णता नपाएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित भण्डारेश्वर गुठीको कि. नं. ९ र १० को क्रमशः ३ रोपनी २ आना ३ दाम र ५ रोपनी ९ आना २ दाम १ पैसा सरकारी जग्गा अतिक्रमण भएको छ । उक्त जग्गाको बीचमा स्थानीयले सरकारको स्वीकृति नलिएरै मोटरबाटोसमेत खोलेको बताइएको छ । उक्त सरकारी जग्गामा पनि व्यावसायिक प्रयोजनका लागि टहरा बनाइएको र एक ग्रिल उद्योगसमेत सञ्चालन भइरहेको भेटिएको छ ।
गुठीको जग्गामा सहमती बेगर प्रहरी कार्यालय !
सरकारी गुठीको जग्गामा प्रहरी कार्यालय बनाइएको भेटिएको छ । काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित लक्ष्मीश्वर महादेव गुठीको नाममा रहेको कि.नं. २३७ को १० रोपनी २ दाम २ पैसा जग्गामा महानगरीय प्रहरी वृत्त, लैनचौरले भवननिर्माण गरेको भेटिएको महालेखाले जनाएको छ । स्वीकृतिविना भवन निर्माण भएको जानकारी पाएपछि संस्थानबाट २०७२ भदौमा स्वीकृति नलिई घर निर्माण नगराउन प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउँदासमेत सुनुवाइ नभएको प्रतिवेदनमा उल्लेख छ ।
जनकपुरमा मात्र १६७ रोपनी जग्गा हरायो
काठमाडौंमा मात्र हैन काठमाडौं बाहिर पनि त्यसैगरी सरकारी जग्गा मिचिएका छन् । जनकपुरको राम मन्दिर गुठी, लक्ष्मण मन्दिर गुठी, रत्नसागर गुठी, दशरथ मन्दिर गुठी, हनुमान नगर गुठीलगायतका गुठीहरूको १ हजार १८८ कित्ता जग्गा अतिक्रमणमा परेको महालेखाले जनाएको छ । हडपिएको उक्त जग्गा फिर्ता गराउनेतर्फ जिम्मेवार निकाए उदासीन देखिएको महालेखाको भनाइ छ ।
दाङमा पनि १५७ रोपनी जग्गा हरायो
महालेखाको प्रतिवेदनअनुसार दाङको नारायणपुरमा रहेको करिब १५७ रोपनी जग्गा अतिक्रमणमा परेको छ । प्रतिवेदनअनुसार दाङका विभिन्न स्थानमा रहेको सरकारी जग्गा हडपिएको भन्दै त्यसलाई सरकार मातहत ल्याउन उचित पहल चालिनुपर्ने महालेखाको सुझाव छ । सरकारी जग्गामा व्यापारिक भवनदेखि गाँउ, अनि सडक र उद्योग स्थापना हुँदा सरकारी निकाएको ध्यान नजानु चिन्ताको विषय भएको महालेखाको प्रतिवेदनमा बताइएको छ ।