चमेलियाबाट विद्युत् उत्पादन

शैल्यशिखर नगरपालिका– १ बलाचमा निर्माण भएको उक्त आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन सुरु गरेको थियो ।

सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन सुरु गर्नेछ । शैल्यशिखर नगरपालिका– १ बलाचमा निर्माण भएको उक्त आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन सुरु गरेको थियो ।

सन् २००७ देखि निर्माण थालेको उक्त आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत सुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । निर्माण सुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन सुरु गरेको छ ।

आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । आठ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना सम्पन्न गर्न करिब १५ अर्ब खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । आयोजना निर्माणमा ढिलाइ हुँदा सरकारले करिब १६ अर्ब रुपैयाँ गुमाउन पुगेको छ ।

प्रधानमन्त्रीबाट आयोजनाको उद्घाटन हुने

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको चमेलिया जलविद्युत् आयोजनाको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार आयोजनास्थल बलाच आउने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । प्रधानमन्त्री देउवाले उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन थाल्ने उनले बताए ।

रासस