लागुऔषधको कारोबार गर्ने दुई जना पक्राउ

पक्राउ पर्नेहरूमा सिन्धुली मरिण गाउँपालिका ४ घर भएका देवकुमार घिसिङ र पदमबहादुर श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी असोज सिंहले जानकारी दिए ।

काठमाडाैं । प्रहरीले अवैध लागुऔषधको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले मङ्गलबार दिउँसो लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुली मरिण गाउँपालिका ४ घर भएका देवकुमार घिसिङ र पदमबहादुर श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी असोज सिंहले जानकारी दिए । धादिङबाट ल्याएको गाँजा उनीहरूले दुईटा झोलामा ८ वटा पोको बनाएर बिक्री वितरण गर्न लाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

‘गाँजा कसबाट र कहाँ बिक्री गर्न लागेको भने खुलेको छैन । हामी थप अनुसन्धान गरिरहेका छौँ,’ एसपी सिंहले भने ।

त्यस्तै प्रहरीले बौद्ध, थानकोटबाट लागुऔषधको कारोबार गर्ने अन्य आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना महिलासमेत छन्। उनीहरूले भारतबाट लागुऔषध ल्याएर नेपालमा बिक्री गर्ने गरेको खुलेको छ ।