नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन् भने, बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् ।
राँझा । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेमा ४८ करोडको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण भएका छन् । नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन् भने, बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् ।
बाँकेमा सबैभन्दा ठूलो लगानीमा नेपालगञ्ज रङ्गशाला निर्माण भएको छ । रङ्गशालाका लागि मात्रै २४ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ । छ करोड लागतमा फुटबल मैदान र १८ करोडमा भीआर्इपी प्यारापिट निर्माण भइरहेको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नम्ब्र ५ का अध्यक्ष भीम वलीले बताए ।
उनका अनुसार, नेपालगञ्ज रङ्गशालामा खेल्नयोग्य मैदानका लागि ३६ लाखको बरमुडा दुबो रोपिएको छ । यसले फुटबल मैदान अन्तर्राष्ट्रिय मापदण्डको बनेको छ । रङ्गशाला परिसरमा फुटबल मैदानबाहेक कारोडौँ लगानीमा पौडीपोखरी, सुटिङ रेञ्ज, भारोत्तोलन एकेडेमी निर्माणकार्य भएको छ । १४ करोड २८ लाख बजेटमा रङ्गशाला छेउमा पौडी पोखरी निर्माण भएको छ । त्यसैगरी एक करोड ५० लाखको लगानीमा सुटिङ रेञ्ज तयारी अवस्थामा पुगेको अध्यक्ष वलीले जानकारी दिए ।
नेपालगञ्जकै कारकाँदोमा दुई करोडमा जुडो एकेडेमी निर्माण भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेको खजुरा सीतापुरमा दुई करोड ५० लाखको लगानीमा भलिबल रङ्गशाला निर्माण भएको छ ।
यसैगरी कोहलपुरमा एक करोड ५० लाखको लगानीमा क्रिकेट खेलमैदान तयार भएको छ । यही मैदानमा बुधबारदेखि आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत क्रिकेट खेल भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरेर निर्माणाधीन खेलकूद पूर्वाधारमा नेपालको खेलकूद इतिहासमै सबैभन्दा धेरै लगानी भएको बताए ।
सदस्यसचिव विष्टले नेपालगञ्जको इतिहासमै यति ठूलो लगानीमा पहिलोपटक प्रतियोगिता हुन लागेको प्रतिक्रिया दिए । उनले निर्माणाधीन भौतिक पूर्वाधारको निर्माणकार्य अधिकांश सकिएको बताए ।