८ मेगावाटको अपर नौगाड जलविद्युत् निर्माणको अन्तिम चरणमा, डेढ महिनाबाट विद्युत् उत्पादन सुरु हुने

‘पेनस्टकको अधिकांश काम पूरा भएको छ, पावरहाउसभित्र मेसिन जडान र सर्जट्याङ्क निर्माणकार्य भइरहेको छ ।’ उनका अनुसार पहिलो टेस्टिङ एक यो महीनाभित्र हुन्छ ।

दार्चुला । दार्चुला नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड दोस्रो जलविद्युत् आयोजना उत्पादनको अन्तिम तयारीमा पुगेको छ । आठ मेगावाट क्षमताको अपर नौगाडमा डेढ महीनाभित्रै विद्युत् उत्पादनको तयारी भएको छ । गत साउनमा आएको बाढीका कारण झण्डै दुई महीना ढिलो भएको हो । ‘अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको अपर नौगाड जलविद्युत् दोस्रोको काम अन्तिम चरणमा पुग्दैछ’, आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले भने, ‘पेनस्टकको अधिकांश काम पूरा भएको छ, पावरहाउसभित्र मेसिन जडान र सर्जट्याङ्क निर्माणकार्य भइरहेको छ ।’

उनका अनुसार पहिलो टेस्टिङ एक यो महीनाभित्र हुन्छ । दुवै सञ्चालन गर्न दुई महीना समय लाग्छ । २०७५ साउनमा नौगाड खोलामा आएको बाढीले निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएको थियो । आयोजनाका अनुसार बाढीका कारण झण्डै १० करोड बराबरको क्षति भएको छ । नौगाड गाउँपालिकाको वडा नं ६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको पावरहाउसमा खसालिनेछ । पाइपलाइन (पेनस्टक)को लम्बाइ पाँच किलोमिटर छ ।

विसं २०७३ असोजदेखि निर्माण शुरु भएको अपर नौगाड जलविद्युत् आयोजनाको लागत एक अर्ब ४४ करोड रहेको छ । अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिकाको वडा नं १ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि नौ किलोमिटर लामो ३३ केभिए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । अपि पावर कम्पनी लिमिटेडले यसअघि नगरपालिकाको वडा नं २ मा ८ दशमल ५ मेगावाट क्षमताको नौगाड प्रथम जलविद्युत् आयोजनाको निर्माण गरेको छ । नौगाड प्रथम जलविद्युत् आयोजना १८ महीनामै निर्माण सम्पन्न भएको हो ।