प्रम देउवाद्वारा चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा देशकै सबैभन्दा बढी जलविद्युत् उत्पादन हुने क्षमता भएकाले यस क्षेत्रमा जलविद्युतको प्रचूर विकास गर्न सबै पक्षको सहयोग आवश्यक भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गरे । त्यस अवसरमा प्रम देउवाले सुदूरपश्चिममा देशकै सबैभन्दा बढी जलविद्युत् उत्पादन हुने क्षमता भएकाले यस क्षेत्रमा जलविद्युतको प्रचूर विकास गर्न सबै पक्षको सहयोग आवश्यक भएको बताए ।

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले ऊर्जा क्षेत्रबाट नै देशको विकास हुने बताउँदै चमेलिया जलविद्युत् आयोजना ७ नं प्रदेशकै ऊर्जाको ढोका भएकाले अब यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास व्यक्त गरे ।

सरकारी स्तरबाट प्रदेश नं ७ मा निर्माण सम्पन्न भएको यो पहिलो जलविद्युत् आयोजना हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत सुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको हो । निर्माण सुरु भएको झन्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन गरेको हो । आयोजनाको दुईओटै युनिटबाट १५/१५ गरी ३० मेगावाट बिजुली उत्पादन भइरहेको छ । यो आयोजना सम्पन्न हुँदासम्म करिब १६ अर्ब रुपैयाँ लागत पुगेको छ ।