बेसीसहर चामे सडकमा चार दिन सवारी आवत जावत रोक

मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा पक्की पुल निर्माण गर्ने क्रममा आजबाट पुलको ढलान हुने भएकाले सवारी आवत जावतमा रोक लगाइएको हो ।

मनाङ र लमजुङ जोड्ने एउटै मात्र सडक बेसीसहर चामे सडक आजबाट चार दिनका लागि बन्द हुने भएको छ । मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा पक्की पुल निर्माण गर्ने क्रममा आजबाट पुलको ढलान हुने भएकाले सवारी आवत जावतमा रोक लगाइएको हो ।

साँघुरो सडक भएको र अर्को कुनै विकल्प नहँुदा सवारी आवत जावतमा रोक लगाइएको पुल निर्माणका सह–इन्चार्ज नारायण लामाले बताए । विसं २०७२ मा भीषण वर्षाले यस खोलाको पुल बगाएपछि हालसम्म काठको अस्थायी पुल निर्माण गरी सवारी साधन ओहोर दोहर गरिरहेका छन् ।

गत जेठमा सडक डिभिजनसँग दुई करोड पाँच लाख १७ हजार ८६९ रुपैयाँमा सम्झौता भई यही पुसबाट काम सुरु भएको हो । मनाङको सडकमा तिमाङ खोला र पिसाङ खोलामा पनि पुल निर्माणको सम्झौता भएको छ । तिमाङ खोला र पिसाङ खोलामा बढी चिसोका कारण काम गर्न कठिन भएकाले हाल काम रोकिएको छ । म्यादी खोलाको पुल निर्माण आगामी २०७५ साल जेठसम्म सक्ने सम्झौता भए पनि २०७४ साल चैत मसान्तमै सक्ने लक्ष्य रहेको सह–इन्चार्ज लामाले बताएका छन् ।