गृहमन्त्रीबाट गृहसचिव र प्रहरी महानिरीक्षक पुरस्कृत

गृहमन्त्रालयमा आज एक कार्यक्रमबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंसापत्र प्रदान गरेका हुन् ।

काठमाडौं । बेरुजु फर्छ्याेट उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ ।

गृहमन्त्रालयमा आज एक कार्यक्रमबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंसापत्र प्रदान गरेका हुन् ।

बेरुजु फर्छ्याेटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयका सचिव राई तथा नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार नगद एवम् प्रशंसापत्र तथा गृहमन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद ६ हजार तथा प्रशंसापत्र प्रदान गरिएको छ ।

कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे । आजको कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने उनको भनाइ छ ।

सरकारले विकास र समृद्धिको लक्ष्य लिएको र त्यसका लागि सुशासन अनिवार्य रहेकोमा गृहमन्त्रीले जोड दिए ।

गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७३/७४ सम्मको फर्छ्याेट आव २०७४/७५ मा गरिसक्नु पर्ने सो अवधिमा ६३.०३ प्रतिशत अर्थात चार अर्ब ३० करोड ९७ लाख रहेकामा दुई अर्ब ७१ करोड ६२ लाख रुपैयाँ बेरुजु फर्छ्याेट भएको छ ।

यस्तै नेपाल प्रहरीको आव २०७३/७४ सम्मको बेरुजु ६८ करोड ४१ लाखमध्ये ५.१४ प्रतिशत अर्थात ५ करोड २५ लाख रुपैयाँ बेरुजु फर्छ्याेट भएको छ ।

बेरुजु फर्छ्याेट मूल्याङ्कन तथा अनुगमन समितिले बेरुजु फर्छ्याेटमा संलग्न उक्त अवधिमा कार्यरत प्रशासकीय प्रमुख र कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्न सकिने पत्रअनुसार उनीहरुलाई गृहमन्त्रालयले पुरस्कृत गरेको हो ।