नेपालमा उत्पादन प्रवद्र्धन गर्न ताइवानी व्यापारी उत्साहित

ताइवानका प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यती होटलमा नेपाली व्यवसायीहरूसँग हालै प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तक्रिया गरेका हुन् ।

काठमाडौं । ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएको व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । ताइवानका प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यती होटलमा नेपाली व्यवसायीहरूसँग हालै प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तक्रिया गरेका हुन् ।

काउन्सिलको नेतृत्वमा नेपाल आएका सात सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलले नेपालमा आफ्नो उत्पादनको बिक्री तथा प्रवद्र्धन गर्न उत्साहित भएको बताएका छन् । एक सयभन्दा बढी नेपाली व्यापारी तथा खरिदकर्ताहरु अन्तरक्रियामा सहभागी रहेको नेपालका लागि सम्पर्क व्यक्ति दर्शन न्यौपानेले बताए । उनले प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा सौर्य ऊर्जा प्रणाली, बेकरी मेसिन, खाद्यपदार्थ तथा जुस, स्टीलपाता तथा कोइला, एलइडी बत्ती तथा सङ्ख्यात्मक डिस्प्ले, सीसीटिभी क्यामरा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादनलगायतका विषयमा छलफल भएको जानकारी दिए ।

न्यौपानेले ताइवानका ब्यापारीले दक्षिण एसियामा आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल, भारत र बङ्गलादेशमा यस प्रकारको व्यापारिक अन्तरक्रिया गर्दै आएको बताए । उनले यसरी नेपाल आएका ताइवानी व्यापारीले नेपाली व्यापारीसँगको भेटघाटमा यसपटक सात थरीका विभिन्न उत्पादनको प्रवद्र्धन गरेको जानकारी दिए । नेपाली व्यवसायीका लागि ताइवानी उत्पादक तथा आपूर्तिकर्तासँग अन्तरक्रिया कार्यक्रममार्फत नेपाल र ताइवानबीच ब्यापारिक सम्बन्ध भविष्यमा अझ प्रगाढ र दिगो हुने न्यौपानले बताए ।

उनले नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी व्यापार विस्तारको सम्भावनाबारे अन्तरक्रिया अत्यन्तै फलदायी भएको जानकारी दिए । कार्यक्रममा सहभागिता जनाउन नेपाली उद्योगी तथा व्यवसायीका लागि निःशुल्क रजिष्ट्रेसनको व्यवस्था गरिएको थियो । रासस