अख्तियारको काम कारबाहीप्रति महालेखा परीक्षकको प्रश्नः मुद्दालाई तामेलीमा राखी आर्थिक चलखेल किन ?

अख्तियारमा परेका उजुरीलाई तामेलीमा राखिदिने तथा मुद्धा मिलाइदिने भन्दै आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको तथ्य बाहिर आएपछि नेतृत्वमाथि पनि प्रश्न उठेको छ ।

काठमाडौं । भ्रष्टाचारको अनुसन्धान गर्न स्थापना भएको अख्तियार दुरुपायोग अनुसन्धान आयोगको काममाथि अर्को संवैधानिक अंग महालेखा परीक्षकको कार्यलयले प्रश्न उठाएको छ ।

अख्तियारले प्रभावकारी रुपमा काम गर्न नसकेको महालेखाले आफ्नो ५५ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । अख्तियारले परेका उजुरीलाई तामेलीमा राखेर आर्थिक चलखेल गर्ने गरेको गुनासाहरु पछिल्ला दिनमा आउने गरेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

भ्रष्टाचार नियन्त्रण गर्नकै लागि स्थापना भएको आयोगले भनेअनुरुप काम नगरेको महालेखा परीक्षकको बार्षिक प्रतिबेदनले देखाएको हो । ‘एक वर्षमा ७ हजार ४०० उजुरीको फछ्र्यौट नहुनुले अख्तियारले जिम्मेवारी पूरा नगरेको देखिन्छ’ महालेखाले भनेको छ ।

अख्तियारमा परेका उजुरीलाई तामेलीमा राखिदिने तथा मुद्धा मिलाइदिने भन्दै आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको तथ्य बाहिर आएपछि नेतृत्वमाथि पनि प्रश्न उठेको छ ।

महालेखालको प्रतिबेदनमा भनिएको छ, ‘उजुरीको प्रारम्भिक छानविन र विस्तृत अनुसन्धान पश्चात् अदालतमा मुद्दा दायरलगायतका भ्रष्टाचार नियन्त्रणका विविध प्रकारका रणनीति अवलम्बन गरे पनि अपेक्षित रुपमा भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन ।

आयोगले ठोस रुपमा भ्रष्टाचार नियन्त्रणको ठोस कदम चाल्न नसकेको भन्दै प्रतिरोधात्मक एवं दन्डनात्मक उपायहरु अवलम्बन गरी मुलुकमा भ्रष्टाचार न्युनिकरण गर्न थप प्रयत्नशील रहनुपर्ने महालेखाले अख्तियारलाई सुझाएको छ । एक वर्षमा १९ हजार ४८८ ओटा भ्रष्टाचारका उजुरी अख्तियारमा परेका छन् ।

जसमा १२ हजार ४ उजुरीको छानविन गरिएको छ । ७ हजार ८८ उजुरीको भने सुनुवाई हुनै बाँकी रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले तयार गरेको प्रतिवेदन अनुसार भ्रष्टाचार नियन्त्रणमा नेपालको स्थान सन् २०१७ मा १२२ औं र २०१८ मा १२४ औँ स्थानमा रहेको देखाएको भन्दै अख्तियारले त्यस कुराको ध्यान दिनुपर्ने प्रतिबेदनमा उल्लेख छ ।