योजना महत्त्वाकाङ्क्षी, कार्यान्वयन शून्य : डा. महत, राजस्वमुखीभन्दा उत्पादनमुखी नीति अवलम्बन गर्न उद्योगी चौधरीको सुझाव

नेपाली काग्रेसका सांसद समेत रहेका उद्योगी चौधरीले राजस्व उठाउन मात्रै उद्धत भएको उनको भनाइ छ । प्रदेश नम्वर ३ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चौधरीले नीतिलाई समयसापेक्ष बनाउन उनले आग्रह गरे ।

काठमाडौं । उद्योगी विनोद चौधरीले राजस्वमुखीभन्दा उत्पादनमुखी नीति अवलम्बन गर्न सरकारलाई सुझाएका छन् । अर्थतन्त्रको बलियो आधार भनेकै उत्पादनमूलक उद्योग हो । तर, अहिले सरकारले आयातमुखी नीतिलाई आत्मसात गरेर अघि बढेकाले देशको अर्थतन्त्र दरिलो हुन नसकेको बताए ।

नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगी चौधरीले सरकार राजस्व उठाउन मात्रै उद्दत भएको आराेप लगाए । प्रदेश ३ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चौधरीले नीतिलाई समयसापेक्ष बनाउन आग्रह गरे ।

त्यसैगरी, पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारले योजना महत्त्वाकाङ्क्षी ल्याएको तर, त्यसलाई कार्यान्वयन गर्ने संरचना थिल्थिलो भएको बताए । ‘संरचना बलियो बनाउँदै जाने अनि मात्रै महत्त्वाकाङ्क्षी योजना ल्याउनुपर्ने हो,’ उनले प्रश्न गरे, ‘योजना बनाउन सजिलो छ, जति महत्त्वाकाङ्क्षी बनाएपछि भइहाल्छ, त्यसलाई कार्यान्वयन गर्नु पर्दैन ?’

देशको अवस्था, पूर्वाधारको अवस्था, प्रदेश तथा स्थानीयको क्षमता हेरेर योजना बनाउनुपर्ने हो । तर, धरातल बिर्सेर सरकारले योजना ल्याएको महतले जानकारी दिए । उद्योगी चौधरीले गाउँमा कृषिजन्य उपज तरकारी र फलफूल उत्पादन बढाई आयात प्रतिस्थापन गर्नुपर्ने बताए ।

अहिले विदेशबाट अर्बौंको तरकारी र फलफूल आयात हुँदा व्यापार घाटा बढेको भन्दै चौधरीले आयात विस्थापन गर्ने गरी उत्पादनमूलक नीति बनाउन सरकारको ध्यानाकर्षण गराए ।

पूर्वअर्थमन्त्री डा. महतले प्रदेश र स्थानीय तहमा ऐन र संरचना पुग्न नसकेकाले ठूला–ठूला घोषणा भन्दा पनि स-साना उत्पादनका क्षेत्रमा केन्द्रित हुन आग्रह गरे । अहिलेको सरकार अत्यन्त वितरणमुखी भएको भन्दै उनले घोषणा गरिएका योजनाहरु कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

कृषिका माध्यमबाट उत्पादन नबढाएसम्म सरकारले लिएको दोहोरो अङ्कको आर्थिक वृद्धिदर सम्भव नहुने उनको तर्क थियो । पछिल्लो समय सुशासन कमजोर हुँदै गएकाले हरेक क्षेत्रमा भ्रष्टाचार, अनियमिता र महँगी बढेकाले आम जनता मारमा परेको उनको भनाइ थियो । जनताले सुशासनको प्रत्याभूति नगरेसम्म अहिलेको सरकारको लक्ष्य पूरा हुन नसक्ने महतको तर्क छ ।