प्रधानमन्त्रीको कटाक्षपछि झस्किए चिनी उद्योगी, परिमाणात्मक बन्देज फुकुवाको सङ्केत

२०७४ वैशाख ४ गते चिनीको भन्सार १५ बाट ३० प्रतिशत पुर्याएको भए पनि विदेशी चिनी निर्वाध रुपमा आइरहेको उद्योगीको गुनासो छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घटेकाले आयात बढ्दै गएको र स्वदेशी ११ चिनी उद्योग घाटामा रहेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

काठमाडौं । चिनी उद्योगीसँग एकाएक रुष्ट बनेका प्रधानमन्त्री केपी ओेली उनीहरुमाथि खनिनुले चिनीको परिमाणात्मक बन्देज फुकुवा हुने सङ्केत गरेको छ ।

देशमा भएको चिनी बिक्री हुन छाडेको र त्यही भएर किसानको भुक्तानी दिन नसकिएको गुनासो उद्योगीले प्रधानमन्त्रीसमक्ष गरेपछि उनकै निर्देशनमा चिनी आयातमा परिमाणात्मक बन्देज लगाइएकोे थियो ।

सरकारले परिमाणात्मक बन्देज लगाएपछि चिनीको मूल्य एकाएक बढेको भन्दै केही दिनअघि प्रधानमन्त्री ओली नेपाल उद्योग परिसङ्घको वार्षिक साधारणसभामै चिनी उद्योगीमाथि खनिएका थिए ।

‘चिनी उद्योगीले मलाई झुक्याए, चिनीको मूल्य कुनै हालतमा बढ्दैन, हामी बढाउँँदैनौं भनेका थिए,’ सभालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘तर, सरकारले परिमाणात्मक बन्देज लगाएको केही दिनमै चिनीको मूल्य बढाएर मलाई झुक्याए ।’

‘उद्योगीले भारतबाट खुलेआम चिनी नेपाल भित्रिँदा नेपाली उद्योगीले घाटा खाएर चिनी बेचिरहेका थिए,’ चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले क्यापिटल नेपालसँँग भने, ‘सरकारले परिमाणात्मक बन्देज लगााएपछि घाटा कम गर्न केही रुपैयाँ बढाएको हो । तर पनि उत्पादन लागतअनुसार चिनी बेचेको होइन । र हामीले प्रधानमन्त्री ओलीलाई पनि झुक्याएका होइनौं ।’

लामो समयदेखि उद्योगीले घाटा बेहोरेरै चिनी बेचिरहेका थिए । ‘उद्योगीले प्रधानमन्त्रीसमक्ष चिनीको उत्पादन लागतदेखि सम्पूर्ण खर्चको यथार्थ विवरण बुझाएका छौं,’ उनले भने, ‘हामीले कसरी झुक्यायौं ?’

त्यसैगरी चिनी उद्योग सङ्घले देशमा भएको चिनीको अवस्थाबारे सार्वजनिक सूचनासमेत निकालेको छ । विदेशबाट सस्तोमै चिनी आयात भएका कारण स्वदेशी चिनी हालसम्म एक लाख ९० हजार टन स्टक रहेको सूचना निकालेका छन् ।

२०७४ वैशाख ४ गते चिनीको भन्सार १५ बाट ३० प्रतिशत पुर्याएको भए पनि विदेशी चिनी निर्वाध रुपमा आइरहेको उद्योगीको गुनासो छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घटेकाले आयात बढ्दै गएको र स्वदेशी ११ चिनी उद्योग घाटामा रहेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

उद्योगीले घाटामा चिनी बेचेको भन्ने दाबीलाई महालेखा चिनी उद्योग घाटामा हरेको विवरण सार्वजनिक गरेपछि पुष्टि भएको छ ।

महालेखाको प्रतिवेदन सार्वजनिक भएपछि चिनी उद्योगीले समस्या समाधानका लागि सरकारसमक्ष माग गरेका छन् । अहिले पनि सस्तोमा चिनी आयात हुँदा स्वदेशी चिनी नबिकेको भन्दै उद्योगले उखुको भुक्तानीसमेत गर्न सकेका छैनन् ।

आव २०७४/७५ को क्रसिङ सिजनमा पुस मसान्तसम्म उद्योगमा ३८ हजार ५४२ टन चिनी थियो । स्थानीय बजारको आधारमा झन्डै २० हजार टन चिनी आयात भएको नेपाल चिनी उद्योग सङ्घले जनाएको छ । सो अवधिमा साल्ट टेड्रिङसँग १८ हजार गरी सो अवधिमा ७६ हजार ५४२ टन चिनी मौज्दात रहेको पाइएको छ ।

त्यस्तै चालू आव २०७५÷७६ को क्रसिङ सिजन सुरु भएपछि चैत मसान्तसम्म १ लाख ६२ हजार २५० मेट्रिक टन चिनी उत्पादन भएको छ । क्रसिङको समय भएकाले चालू आवको अन्त्यसम्ममा २८ हजार मेट्रिक टन थप चिनी उत्पादन हुने अनुमान सङ्घको छ । त्यसका आधारमा गत वर्षको मौज्दात र यस वर्षको चिनी उत्पादन गरी २ लाख ६७ हजार ४२ मेट्रिक टन चिनी मौज्दात हुन जान्छ । यता २०७५ चैत २५ गतेसम्म ७७ हजार मेट्रिक टन चिनी बिक्री भएको छ ।

मुलुकमा १ लाख ९० हजार टन चैत मसान्तसम्म उद्योगमा चिनी मौज्दात छ । मुलुकमा वार्षिक चिनीको माग २ लाख ५० हजार छ ।

वैशाखदेखि मङ्सिरसम्म १ लाख ७० हजार मेट्रिक टन चिनी खपत भए पनि झन्डै २० हजार टन चिनी अझै मौज्दात रहन जाने देखिन्छ ।

यसअघि २०७४ पुसबाट २०७५ जेठसम्म चिनी ५८ रुपैयाँ ६० पैसामा बिक्री हुँदै आएको थियो । चालू क्रसिङ सिजनको हालसम्म चिनीको सरदर बिक्री मूल्य ५९ रुपैयाँ प्रतिकेजी रहेको सङ्घले जनाएको छ ।

गत वर्षको क्रसिङ सिजनमा चिनीको उत्पादन लागतभन्दा घटी मूल्यमा चिनी बिक्री गर्नुपरेकाले स्वदेशी चिनी उद्योगलाई २ अर्ब २५ करोड घाटा परेको सङ्घको दाबी छ ।