सरकारले लगानी सम्मेलनमा पेस गरेका ३१ परियोजनामा २५ खर्बको प्रस्ताव

गत चैत १५ र १६ गते राजधानीमा सम्पन्न लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्ताव गरिएका ५० विभिन्न परियोजनामध्ये आधामा लगानीको प्रस्ताव परेको लगानी बोर्डले जानकारी दिएको छ ।

काठमाडौं । विभिन्न विदेशी लगानीकर्ताले ३१ ओटा परियोजनामा २५ खर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेका छन् । गत चैत १५ र १६ गते राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्ताव गरिएका ५० विभिन्न परियोजनामध्ये आधामा लगानीको प्रस्ताव परेको लगानी बोर्डले जनाएको छ । ३१ ओटा परियोजनामा ४८ ओटा आवेदन प्राप्त भएको बोर्डले जानकारी दिएको छ ।

सम्मेलनमा प्रस्ताव नगरिएका ५ ओटा आयोजनामा प्रस्ताव परेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए । कृषि पूर्वाधारका ५ परियोजनामा ७ ओटा प्रस्ताव, स्वास्थ्य शिक्षा पूर्वाधारमा २ ओटा, ऊर्जाका ७ परियोजनामा ८, उद्योगमा १, पर्यटनमा २ ओटामा ३ प्रस्ताव परेको अधिकारीले जानकारी दिए । उनका अनुसार यातायातका ९ परियोजनामा २२ र ४ सहरी पूर्वाधारमा ५ ओटा आवेदन परेका छन् ।

बोर्डले पहिलो चरणमा २७ ओटाको ३ महिनाभित्र अर्थात् अगस्ट २० सम्म विकासकर्ता छनोट गर्ने जानकारी दिएको छ । दोस्रो चरणमा १७ परियोजनाका लागि ९ महिना र तेस्रो परियोजनाका लागि १४ महिना लाग्ने अधिकारीले जानकारी दिए ।