घर–घरमै सामाजिक सुरक्षा भत्ता

एक वर्षअगाडि गाउँपालिकाको केन्द्रमा पहिलो पटक बैङ्क पुगेपछि बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएकोमा आइतबारदेखि घर–दैलोबाटै बैङ्किङ प्रणालीबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको हो ।

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणको कार्य घर–दैलोबाटै सुरु गरेको छ । एक वर्षअगाडि गाउँपालिकाको केन्द्रमा पहिलो पटक बैङ्क पुगेपछि बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएकोमा आइतबारदेखि घर–दैलोबाटै बैङ्किङ प्रणालीबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको हो । आइतबार कैलाश गाउँपालिका वडा नम्बर ३ स्थित घुमाउनेमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

वडा नम्बर ३ र ४ का जेष्ठ नागरिकको सामाजिक सुरक्षाभत्ता पायक पर्ने स्थान घुमाउनेमा वितरण गरिएको ३ नम्बर वडा अध्यक्ष देवलाल लामाले जानकारी दिए । सरकारी सेवा घरदैलोमै दिने उद्देश्यसहित घरदैलोमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको अध्यक्ष लामाले बताए ।
आफ्नै घरमा सामाजिक सुरक्षाभत्ता पाउ“दा जेष्ठ नागरिक निकै खुशी भएका छन् । ‘डाँडापाखा भएकाले पहिला बैङ्कसम्म पुग्न निकै असजिलो हुन्थ्यो । ३ नम्बर वडामै पालिकाको मुकाम तथा बैंकको कार्यालय भएपनि ३ घण्टा हिँडेर सामाजिक सुरक्षा भत्ता लिन जानुपर्ने बाध्यतालाई निराकरण गरेका हौँ ।’, वडाअध्यक्ष लामाले भने । सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा अध्यक्ष लामासहित वडासदस्यहरु, वडासचिव तथा सानीमा बैङ्क कैलाश शाखाका प्रतिनिधिको टोली पुगेको थियो ।

स्थानीयबासी १ सय २ वर्षीय मानबहादुर गोलेले सामाजिक सुरक्षा भत्ता घरमै पाउँदा निकै खुसी व्यक्त गरे । ‘हामीजस्ता जेष्ठ नागरिकको सुविधाका लागि घर–दैलोमै सामाजिक सुरक्षाभत्ता दिन सुरु भयो । यो धेरै राम्रो छ । जनप्रतिनिधिहरुले यस्तै काम गर्दै जाउन ।’, उनले भने, हामीले भोट दिएर जिताएका प्रतिनिधिले हाम्रो सजिलोका लागि गरेको कामबाट हामी खुसी भएका छौँ ।’

गाउँपालिकाको १० ओटा वडामध्ये वडा नम्बर ३ बाट बैङ्किङ प्रणालीबाट भत्ता वितरणको कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए । जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई सहज किसिमबाट भत्ता उपलब्ध गराउन घर–दैलोमै बैङ्कका प्रतिनिधिलगेर बैङ्किङ प्रणाली अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको उनले बताए ।

आइतबार ३ र ४ नम्बर वडाको पायक पर्ने स्थान घुमाउनेमा बैङ्कको प्रतिनिधिलाई लगेर बैङ्किङ प्रणली अनुसार नै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने अभियान सुरु गरेको उनले बताए ।