वृद्धभत्ता बढाउनुपर्ने माग

अहिले पाउँदै आएको दुई हजार रुपैयाँ भत्ता पुनरवलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका छन् ।

ज्येष्ठ नागरिकले वृद्धभत्ता बढाउनुपर्नेमा जोड दिँदै आएका छन् । अहिले पाउँदै आएको दुई हजार रुपैयाँ भत्ता पुनरवलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका छन् ।

ऐनमा व्यवस्था भएअनुसार यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्ने लगायतका माग गर्दै विगत पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिँदै आए पनि अहिलेसम्म माग पूरा हुन सकेको छैन ।

अग्रज समाज नेपालको अगुवाइमा धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्ध कुनै निहुँमा उजुरी गर्न नपाइने समेत माग गर्दै आएका छन् ।

अग्रज समाजका अध्यक्ष महाप्रसाद पराजुलीले आफ्ना मागबारे पटकपटक सरकारलाई सुनाउँदै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गरे । विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सय रुपैयाँबाट सुरु गरेको वृद्धभत्ता अहिले दुई हजार पुगेको छ ।

पछिल्लो पटक ज्येष्ठ नागरिक (दलित, महिला, लोपोन्मुख जाति, आदिवासी, कर्णालीवासी र एकल महिला) ले ५५ वर्ष र अन्य ज्येष्ठ नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको सङ्ख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात् कुल जनसङ्ख्याको ८.१३ प्रतिशत छ ।

रासस