करिब १५ अर्बको लगानीमा ४ वटा ठूला लगानीका टेक्स्टायल उद्योग सञ्चालनमा छन् भने जहाँ १० हजारले प्रत्यक्षरुपमा रोजगारी पाउँदै आएका छन् । यी धागो उद्योगले वार्षिक ४० हजार टन धागो उत्पादन गर्ने गरेको बताइन्छ ।
काठमाडौं । नेपालबाट बंगलादेशमा नेपाली धागो निकासीको बाटो खुलेको छ । विगत ४ वर्षदेखि बंगलादेशमा प्रतिबन्ध लाग्दै आएको नेपाली धागो आयात फुकुवा भएसँगै अब नेपाली धागो निर्वाध रुपमा निकासी हुन पाउने भएको हो ।
बंगलादेशस्थित राष्ट्रिय राजस्व बोर्डले सरोकारवालाहरुसँगको छलफलपछि स्थलमार्ग हुँदै नेपाली धागोको आयात गर्न अनुमति दिने निर्णय गरेपछि नेपाली धागोमाथिको प्रतिबन्ध हटेको हो ।
बंगलादेशले ४ वर्षअघि नेपाली धागोको आयात बन्द गर्ने निर्णय गरेपछि नेपाली पक्षले बारम्बार प्रतिबन्ध फुकुवाका लागि आग्रह गर्दै आएको थियो । नेपाली धागो निकासीमा प्रतिबन्ध लागेपछि नेपाललाई ठूलो नोक्सानी परेको थियो ।
निजी तथा सरकारी तवरमा बारम्बार भएका छलफल र नेपाली धागोको गुणस्तर परीक्षणपछि बंगलादेश सरकारले नेपाली धागो आयात गर्न दिने निर्णय गरेको हो ।
बोर्डको सीमा शुल्क निर्धारण विभागले गत अप्रित ७ मा पाँचग्रहको तेतुलियामा स्थलमार्ग हुँदै धागो आयातको अनुमति दिने वैधानिक नियामक आदेशसमेत जारी गरिसकेको छ ।
नेपालमा थुप्रै धागो उद्योगहरु सञ्चालन भए पनि उत्पादित धागोको प्रमुख गन्तब्य बंगलादेश भएको र त्यहाँ प्रतिबन्ध लागेपछि नेपालले थप नोक्सानी ब्यहोर्दै आएको थियो ।
करिब १५ अर्बको लगानीमा ४ वटा ठूला लगानीका टेक्स्टायल उद्योग सञ्चालनमा छन् भने जहाँ १० हजारले प्रत्यक्षरुपमा रोजगारी पाउँदै आएका छन् । यी धागो उद्योगले वार्षिक ४० हजार टन धागो उत्पादन गर्ने गरेको बताइन्छ ।