दाङको गढवा गाउँपालिकालाई नमूना शहर बनाउन डीपीआर निर्माण सुरु

शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डिपिआर सुरु गरेको छ ।

लमही । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम सुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डिपिआर सुरु गरेको छ ।

अहिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । उनका अनुसार गाउँपालिकाले नमूना बस्ती विकास, हरियाली पार्क निर्माण, फोहर सकलन केन्द्र निर्माण, खानेपानीका वडास्तरीय बृहत योजना सञ्चालन र नमूना सडक बनाउने कार्यमा गुरुयोजना निर्माण गरी कार्यान्वयनको चरणमा लगेको उनले बताए ।

डिपिआर तयार भएपछि त्यही आधारमा नमूना शहर निर्माणको काम अघि बढाउने योजना रहेको उनको भनाइ छ । प्रदेश नम्बर ५ सरकारको ६० लाख बजेटमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणको तयारी भएको उनले बताए । प्रदेश सरकारकै ३६ लाखको लागतमा गढवा गाउँपालिकास्तरीय व्यवस्थित र आधुनिक खेलकूद मैदान निर्माणको सुरुआत गर्न थालिएको उनले बताए ।

दाङको विकट क्षेत्रमा रहेको उक्त गाउँपालिकामा आधुनिक शहर निर्माण भएसँगै गाउँपालिकाले विकासमा फड्को मार्न अध्यक्ष यादवको भनाइ छ । त्यस्तै प्रदेश सरकारले नै देउखुरीको जङ्गलकुटीमा नमूना थारु सङ्ग्रहालय बनाउने योजना बनाएको छ ।

पानीको समस्या रहेको उक्त पालिकामा अहिले पनि पानीको समस्या पनि हटेको उनको भनाइ छ । साथै साढे चार करोडको लागतमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्यलाई तीब्रता दिइएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकासले पनि गति लिन थालेको स्थानीयले बताएका छन् ।

स्थानीय खुसीराम यादवका अनुसार यस अघि विकास निर्माणका कार्यले गति लिन नसकेको भएपनि अहिले जनप्रतिनिधि आएपछि विकास निर्माणका काम तीब्र गतिमा अघि बढिरहेका छन् । रासस