खेलौना मात्र चोर्ने ‘बालक ग्याङ्ग’, १५ लाखभन्दा बढीका चोरीका खेलौना कोठैभरि

कोठामा भरिएका खेलौना उनीहरुका अभिभावकले किनिदिएका भने होइनन् । न त उनीहरुले कुनै उपहार नै पाएका हुन् । काठमाडौंको महाराजगञ्ज क्षेत्रका विभिन्न पसलबाट खेलौना मात्र चोरेर ती बच्चाहरुले आफ्नो कोठामा जम्मा गरेका हुन् ।

काठमाडौं । काठमाडौं । उमेरै खेलौनासँग खेल्ने हो । हातमा कहिले प्लेन त कहिले पेस्तोल हुन्छ । रोबोर्ट र सानासाना साइकलसँग खेल्न पनि उनीहरुलाई रमाइलो लाग्छ । १० देखि १४ वर्ष उमेर समूहका बच्चाहरुको कोठा खेलौना नै खेलौनाले भरिएको छ ।

कोठामा भरिएका खेलौना उनीहरुका अभिभावकले किनिदिएका भने होइनन् । न त उनीहरुले कुनै उपहार नै पाएका हुन् । काठमाडौंको महाराजगञ्ज क्षेत्रका विभिन्न पसलबाट खेलौना मात्र चोरेर ती बच्चाहरुले आफ्नो कोठामा जम्मा गरेका हुन् ।

प्रहरीले महाराजगञ्जको भाटभटेनी क्षेत्रमा एउटा बच्चाले खेलौना चोरिरहेको समयमा पक्राउ गरेपछि थाहा भयो यसरी खेलौना चोर्ने बच्चाहरुको ग्याङ्ग नै रहेछ । चोरी गर्ने समूह बच्चा रहेका कारण प्रहरीले बच्चाहरुको पहिचान भने गोप्य राखेको छ । एउटा बच्चालाई पक्राउ गरेपछि खेलौना चोर्ने बच्चाहरुको समूह ८ जना रहेको प्रहरीले थाहा पायो ।

प्रहरीले मंगलबार राति खेलौना मात्र चोरी गर्ने ८ जना बच्चाहरुलाई पक्राउ गरेको छ । पक्राउपछि ८ जनाको कोठामा पुगेर खेलौना हेर्दा करिब १५ लाख बराबारको खेलौना मात्र भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले काठमाडौंको विभिन्न क्षेत्रमा मजदुरी गरेर बस्ने परिवारका बच्चाहरु चोरीमा संलग्न भएको भेटिएको बताए । ‘एउटा बच्चालाई चोरी रहेको समयमा पक्राउ गरेर सोधपुछ गर्दा थाहा भयो उनीहरुको ग्याङ्गको नाम नै बालक राखेका रहेछन्, उनले भने । उनका अनुसार पक्राउ परेका ८ जना बालक ८ जिल्लाका छन् ।

प्रहरीका अनुसार काठमाडौं, रामेछोप, धादिङ, सिन्धुलीलगायत विभिन्न जिल्लाबाट मजदुरी गर्न काठमाडौं आएका मजदुरहरुका बच्च हुन् ।
उनीहरुले काठमाडौंको सुकेधारास्थित शान्तराज वन्तको खेलौना स्टोरबाट मात्र १५ लाख बढीको सामान चोरी गरेको प्रहरीले जनाएको छ ।

केएलटावरलगायतका सुपर मार्केटमा होलसेल खेलौना विक्रि गर्दै आएका वन्तको गोदामबाट खेलौना चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैजना सरकारी स्कुलमा अध्यनरत रहेको प्रहरीले जनाएको छ । खेल्दै गर्दा उनीहरुको एक आपसमा चिनजान भएर पछि ग्याङनै बनाएर खेलौना चोरीमा लागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ८ जनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।