शङ्खधर पार्कमा पहिलो अन्तरिक्ष यात्रीको प्रतिमा

गागरिनको ८५ औं वार्षिकोत्सवका अवसरमा बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरुपमा प्रतिमा अनावरण गरेका हुन् ।

काठमाडौं । काठमाडौंको शङ्खधर पार्क (रत्नपार्क)मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको पोशाकमा कुममाथिको प्रतिमा अनावरण गरिएको छ ।

गागरिनको ८५ औं वार्षिकोत्सवका अवसरमा बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरुपमा प्रतिमा अनावरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख शाक्यले शङ्खपार्कलाई मनोरञ्जन लिने मात्र नभई अध्ययनका लागि पनि उपयुक्त बनाइने बताए । प्रमुख शाक्यले आपसी हित र गागरिनको जीवनले जोडेको अन्तरराष्ट्रिय सम्बन्धमा चर्चा गर्दै २७ वर्षको उमेरमा अन्तरिक्षको यात्रा गरेर ३४ वर्षको उमेरमा मृत्युवरण गरेका गागरिनको जीवन पद्धति युवा सशक्तीकरणको उदाहरण भएको बताए ।

कार्यक्रममा अन्तरिक्ष यात्री भिक्टोरले एकीकृत विकासमा यस्तो प्रकारको सहयोग उपयोगी हुने विश्वास व्यक्त गरे । उनले नेपाल र रसियाको कुटनीतिक सम्बन्धबाट दुवै देशले लाभ लिन सक्ने बताए । नेपालका लागि रसियाका कार्यवाहक राजदूत युरी युझाननोभले काठमाडौं महानगरसँग साझेदार बन्न पाएकोमा खुसी व्यक्त गरे ।