धूलो दूध : माग ३ हजार, उत्पादन २ हजार टन, आयात प्रतिबन्धको फाइदा कसले लिँदैछ ?

विदेशबाट आयात गर्दा गुणस्तर नभएको भन्दै केही व्यवसायीले कृषिमन्त्री चक्रपाणि खनाललाई सुझाव दिएपछि उनले विदेशबाट धूलो दूध ल्याउन प्रतिबन्ध लगाए । मन्त्री खनालले बिना अध्ययन र विदेशबाट आएको धूलो दूधको गुणस्तर परीक्षण नै नगरी आयात प्रतिबन्ध गर्दा स्वदेशी धूलो दूध उत्पादन गर्ने उद्योगीले त्यसको फाइदा उठाउँदै मूल्य बढाए । अहिले बजारमा धूलो दूधको अभाव छ र मूल्य पनि महँगो ।

काठमाडौं । घरेलु बजारमा धूलो दूधको माग वार्षिक ३ हजार टन छ । मुलुकमा रहेका पाउडर प्लान्टले २ हजार टन मात्र उत्पादन गर्छन् । एक हजार टन धूलो दूध अपुग हुँदा व्यवसायीहरुले विदेशबाट आयात गरिरहेका थिए ।

स्वदेशमा धूलो दूधको उत्पादन बढी भएको र विदेशबाट आयात गर्दा गुणस्तर नभएको भन्दै केही व्यवसायीले कृषिमन्त्री चक्रपाणि खनाललाई सुझाव दिएपछि उनले विदेशबाट धूलो दूध ल्याउन प्रतिबन्ध लगाए । मन्त्री खनालले बिना अध्ययन र विदेशबाट आएको धूलो दूधको गुणस्तर परीक्षण नै नगरी आयात प्रतिबन्ध गर्दा स्वदेशी धूलो दूध उत्पादन गर्ने उद्योगीले त्यसको फाइदा उठाउँदै मूल्य बढाए । अहिले बजारमा धूलो दूधको अभाव छ र मूल्य पनि महँगो ।

कृषिमन्त्री खनालले गरेको धूलो दूध आयात प्रतिबन्धको हचुवा निर्णयले उनलाई नै पहिला सुझाव दिनेहरुले फाइदा लिइरहेका छन् । कृषिमन्त्री खनालले मागको तुलनामा अत्यन्तै कम उत्पादन हुँदा पनि धूलो दूध आयातमा रोक लगाउँदै आएका छन् ।

बिस्कुट उत्पादक सङ्घले उपलब्ध गराएको तथ्याङ्कअनुसार उद्योगलाई वार्षिक एक हजार टन धूलो दूध आवश्यक पर्छ । ‘खासगरी प्रिमियम बिस्कुट बनाउन धूलो दूध अनिवार्य कच्चा पदार्थ हो,’ एक बिस्कुट उद्योगीले भने, ‘तर, सरकारले दूध आयात गर्ने बाटो नै बन्द गरिदिएको छ ।’

त्यसैगरी, तारे होटललाई वार्षिक ५ सय टन धूलो दूध आवश्यक पर्ने होटल एसोसिएसन अफ नेपाल (हान)ले तथ्याङ््क दिएको छ । होटलभित्र सम्पूर्ण बेकरीका परिकार बनाउन ठूलो परिमाणमा धूलो दूध खपत हुने गर्छ ।

आइसक्रिम बनाउने स–साना उद्योगले पनि वार्षिक २ सय टन धूलो दूध खपत गर्ने गरेका छन् । त्यसबाहेक डेरी क्षेत्रमै वार्षिक एक हजार ३ सय टन धूलो दूधको माग छ । उपलब्ध सबै तथ्याङ्कलाई आधार मान्दा नेपालमा अझै एक हजार टन धूलो दूधको अभाव देखिन्छ ।

दुग्ध विकास बोर्डका अनुसार चितवन मिल्कले दैनिक ९० हजार लिटर दूध कन्भर्सन गर्छ । १२ लिटर दूधबाट एक केजी धूलो दूध बन्छ । यसलाई आधार मान्दा चितवन मिल्कले दैनिक ७ हजार ५ सय केजी धूलो दूध बनाउन सक्छ ।

त्यसैगरी, दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक ६० हजार लिटर दूध कन्भर्सन गर्छ । यसलाई केजीमा कन्भर्ट गर्दा ५ हजार केजी धूलो दूध बनाउने गरेको दुग्ध विकास बोर्डको तथ्याङ्कमा देखिएको छ । त्यसैगरी, सुजल डेरीले दैनिक ८० हजार लिटर दूध कन्भर्सन गर्छ । सुजलले दैनिक ६ हजार ६ सय ६६ केजी धूलो दूध बनाउने गरेको छ ।

खासगरी भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा बढी दूध उत्पादन हुन्छ । र सोही समयमा मात्रै पाउडर प्लान्ट सञ्चालन हुन्छन् । चैतदेखि साउनसम्मलाई दूध अभाव हुने सिजनका रुपमा लिइन्छ । र, यही सिजनमा डेरीलाई धूलो दूध आवश्यक पर्छ भने बिस्कुट र होटललाई वर्षभरि धूलो दूध आवश्यक पर्छ ।

दुग्ध विकास संस्थान, चितवन मिल्क तथा सुजल डेरीको गरी वार्षिक २ हजार टन हाराहारीमा धूलो दूध उत्पादन हुने तथ्याङ्क क्यापिटल नेपाललाई दिएका छन् । यसलाई आधार मान्दा पनि वार्षिक एक हजार टन धूलो दूध अपुग हुन्छ ।

डीडीसीको आफ्नै वेबसाइटमा पनि वार्षिक ७ लाख ९९ हजार १ सय १३ केजी धूलो दूध बनाइएको तथ्याङ्क छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार गत वर्ष मात्रै धूलो दूध आयातका लागि चार ओटा कम्पनीले अनुज्ञापत्र लिएका थिए । ती आयातकर्ताले गत वर्ष २ हजार टन धूलो दूध आयात गरेको विभागबाट अनुज्ञापत्र लिएकै आधारमा थाहा पाउन सकिने विभागका एक अधिकारीले भने ।

डेरी उद्योग सङ्घमा आबद्ध नभएका स–साना डेरीको आफ्नै पाउडर प्लान्ट छैन । चितवन मिल्कबाट धूलो दूध बिक्री हुँदैन । दुग्ध विकास संस्थानले केही डेरी उद्योगलाई धूलो दूध बेचिरहेको छ । सुजलले पनि केही मात्रामा बेचिरहेको छ । तर, अहिलेसम्म बिस्कुट तथा चकलेक उद्योग जस्ता ठुल्ठूला उद्योगले धूलो दूध नपाएको उद्योगीहरु बताउँछन् ।

याे पनि पढ्नुहाेस्

एसएमपी आयात प्रतिबन्धको असर : पाउडर उद्योग मालामाल, टाट पल्टिँदै बिस्कुट इन्डस्ट्रिज

किसान र उद्योग संरक्षणको नाममा ‘एकाधिकार’