प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चैत २७ को निर्णयअनुसार यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठन भएको समितिले दिएको राय सुझावका आधारमा उक्त निर्णय गरिएको विभागका निर्देशक तीर्थराज खनालले जानकारी दिए ।
काठमाडौं । यातायात व्यवस्था विभागले देशभर रहेका यातायात समितिलाई कम्पनीमा जान आवश्यक सहजीकरण गर्न देशभरकै यातायात कार्यालयलाई पत्राचार गरेको छ । सरकारले यातायात सङ्घ संस्थालाई कम्पनीमा जान निर्देशन दिएसँगै कम्पनीमा जान आवश्यक पर्ने सहजीकरणका लागि देशभरका यातायात कार्यालयलाई सोमबार पत्राचार गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चैत २७ को निर्णयअनुसार यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठन भएको समितिले दिएको राय सुझावका आधारमा उक्त निर्णय गरिएको विभागका निर्देशक तीर्थराज खनालले जानकारी दिए ।
उक्त समितिमा विभागका महानिर्देशकसँगै गृह मन्त्रालयका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात कार्यालयका प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधि सदस्य थिए ।
‘यातायात व्यवसायीलाई र सङ्घ संस्थालाई कम्पनी ऐन (संशोधित सहित) को प्रावधानअनुसार एक सयभन्दा बढी शेयर होल्डरलाई कम्पनीमा परिणत गर्न सबै शेयरधनीलाई सनाखत गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्ने प्रयोजनका लागि सहजीकरण गर्न परिपत्र गरेका हौँ’, उनले भने ।
दर्ताका लागि यातायात कार्यालयमा कागजात पेश गर्ने र यातायात व्यवस्था कार्यालयको प्रमुख वा अधिकृतस्तरको कर्मचारीले प्रमाणित गरेको कागजातलाई आधिकारिक कागजातको रूपमा लिई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता हुनसक्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
सबै प्रदेश र जिल्लामा कम्पनी रजिष्ट्रार कार्यालय नभएकाले उक्त व्यवस्था गरिएको हो । रासस