विद्यार्थीलाई सघाउन जापानी नागरिकद्वारा अक्ष्यकोष स्थापना

विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले झोला अक्षयकोष शीर्षकमा ८० हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

बेझाड । जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सिन्दुर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चलेमा अक्षयकोष स्थापना गरेका छन् । यहाँ अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले झोला अक्षयकोष शीर्षकमा ८० हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

सो रकम विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको शैक्षिक पठनपाठनमा खर्च गर्ने सहमतिअनुसार ओकेबाजेले अक्षयकोष स्थापना गरिदिएका हुन् । दुर्गम र विकट क्षेत्रमा सञ्चालित यस विद्यालयमा अध्ययनरत विद्यार्थीको अवस्था देखेर अक्षयकोष स्थापना गरी सहयोग गरेको अक्षयकोषदाता ओकेबाजले बताए ।

ओकेबाजेले स्थापना गरेको अक्षयकोषबाट सबै विद्यार्थीलाई मिलाएर विभिन्न शैक्षिक सामग्री, कापी, कलम, झोला, छात्रवृत्ति वितरण गरिने प्रधानाध्यापक हुमबहादुर सुनारी बताउनुहुन्छ । यस विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म पठनपाठन भइरहेको छ । हाल १६० विद्यार्थी भर्ना भएका छन् भने भर्ना हुने क्रम जारी रहेको विद्यालयले जनाएको छ । गत वर्ष विद्यलायमा १८१ विद्यार्थी अध्ययनरत थिए ।

करीब दुई दशक पाल्पालाई कमर्थलो बनाएर ओकेबाजेले सामाजिक क्षेत्रमा तल्लीन भएर काम गरिरहेका छन्। उनले जापानका विभिन्न सङ्घसंस्था, व्यक्तिसँग सहकार्य र समन्वय गरी आर्थिक रकम जुटाएर शिक्षा, स्वास्थ्य, खानेपानी, विपन्नको आर्थिक उपचारलगायतका क्षेत्रमा ठूलो रकम खर्च गर्दै आएका छन् ।