दोलखा उद्योग वाणिज्य सङ्घको चुनावी रौनक सुरु, अध्यक्षमा सुन्दर र इन्द्र भिड्दै

अध्यक्षका लागि हालसम्म दुई जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान अध्यक्ष सुन्दर कार्की र महासचिव इन्द्र श्रेष्ठ अध्यक्ष पदका लागि निर्वाचनमा होमिने भएका हुन् । उनीहरु अहिले आन्तरिक प्रचारमा व्यस्त हुन थालेका छन् ।

काठमाडौं । दोलखा उद्योग वाणिज्य सङ्घको चुनावी रौनक सुरु भएको छ । वैशाख २८ गते हुने २२ औं साधारणसभाबाट नयाँ नेतृत्वसमेत चयन हुने भएकाले व्यवसायीहरु प्यानल नै बनाएर चुनावी प्रचारमा लागेका छन् ।

अध्यक्षका लागि हालसम्म दुई जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान अध्यक्ष सुन्दर कार्की र महासचिव इन्द्र श्रेष्ठ अध्यक्ष पदका लागि निर्वाचनमा होमिने भएका हुन् । उनीहरु अहिले आन्तरिक प्रचारमा व्यस्त हुन थालेका छन् ।

तीन वर्षअघि सम्पन्न निर्वाचनबाट मात्र १ मतले विजयी भएका अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा मुद्दा परेका कारण राम्रोसँग काम गर्न नपाएको भन्दै एक पटक फेरि अध्यक्षमा उठ्न लागेको बताउँदै आएका छन् । राम्रो काम गर्न चाहँदा चाहँदै पनि मुद्दा परेकाले कार्यकालभरि काम गर्न नपाएको उनको भनाइ छ ।

यस्तै महासचिव श्रेष्ठले लामो समयदेखि सङ्घमा बसेर काम गरेको भन्दै अध्यक्षको उम्मेदवारी घोषणा गरेको बताएका छन् । तीन कार्यकाल सङ्घको कार्यसमिति सदस्यमा बिताएका श्रेष्ठले गएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका थिए ।

अध्यक्षका प्रत्यासी दुवै जना हार्डवेयर व्यवसायी हुन् । अध्यक्ष कार्की होटल व्यवसाय गर्दै हार्डवेयर व्यवसायमा लागेका हुन् भने श्रेष्ठ सुरुदेखि नै हार्डवेयर व्यवसायी हुन् ।

उनीहरु दुवै पारिवारिक व्यवसायबाट अघि बढेका हुन् । अध्यक्षका प्रत्यासी कार्कीका जेठा दाइ सुदर्शन कार्की हाल नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य हुन् भने दोलखा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष हुन् । कार्की ग्रुपमार्फत आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका उनीहरु दोलखाका स्थापित व्यवसायी हुन् । उनी नेकपा निकटका व्यवसायी हुन् । उनलाई नेकपाले अघि सारेको हो ।

यस्तै अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठ दोलखाका स्थापित व्यवसायी पृथ्वी श्रेष्ठका भाइ हुन् ।  श्रेष्ठ दोलखाका शालीन व्यवसायी मानिन्छन् उनी दोउबा संघमा दुई कार्यकाल महासचिव भैसकेका छन ।  हार्डवेयर व्यवसायीमा श्रेष्ठ परिवारको एकछत्र राज छ । श्रेष्ठलाई लोकतान्त्रिक पार्टीले सहयोग गरेको छ । उनलाई नेपाली काङ्ग्रेसलगायत विभिन्न दलमा आबद्ध व्यवसायीहरुले साथ दिएका छन् ।

दुई चर्चित व्यावसायिक परिवारबीच हुन लागेको प्रतिस्पर्धाले दोलखा अहिले तातेको छ । ती दुवै उम्मेदवारहरु व्यावसायिक परिवारका कान्छा सदस्य हुन् ।