नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो ।
दमौली । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो ।
पचास केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा शुरु गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनले भने, ‘हालसम्म विद्युत् सेवा नपुगेको यस ठाउँमा बिजुली बाल्न सफल भएका छौँ ।’ केन्द्रले एक महीना अघि मात्रै सोही वडाको ग्याजाटारमा समेत ९६ घरधुरीमा विद्युत् सेवा पु¥याएको थियो ।
गोशलीले तनहुँका १५ प्रतिशत घरधुरीमा अझै विद्युत् सेवा नपुगेको हुँदा अबको दुई वर्षभित्रमा ती सबै घरधुरीमा विद्युत् सेवा पु¥याउने बताए । उनले आर्थिक अभावले मिटर जडान गर्न नसक्ने घरधुरीलाई अनुदानमा पनि मिटर जडान गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए ।
उनका अनुसार ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत केही दिनभित्रमा रिसिङ गाउँपालिका–३ को दुवुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, व्यास नगरपालिका–१३ को सुढे र व्यास नगरपालिका–१४ को मास्दीघाटमा विद्युत् सेवा पु¥याउन काम तीव्ररुपमा चलिरहेको छ । ग्रामीण विद्युतीकरण कार्यक्रमका लागि तनहुँमा रु ८५ करोड बजेट विनियोजन भएको छ ।
साराङघाटका स्थानीयवासी चन्द्रबहादुर गुरुङले पहिलो पटक बिजुली बल्दा गाउँलेमा उत्साह छाएको बताए । वर्षौंदेखिको बिजुली बाल्ने सपना अहिले पूरा भएको बताउँदै उहाँले बिजुली बलेपछि अब गाउँको मुहार फेरिने विश्वास व्यक्त गरे । उनका अनुसार अनुसार बिजुली बाल्नका लागि गाउँलेले पोल ढुवानी, पोल गाड्ने र झाडी बुट्यान फाँड्न जनश्रमदानसमेत गरेका थिए ।
दुई वर्षपछि बिजुली
पोल गाडेको दुई वर्षपछि तनहुँको घिरिङ गाउँपालिका–४ मा बिजुली बलेको छ । बिजुलीको पोल र तार जडान गरेको दुई वर्षपछि गाउँपालिकाको पहलमा १५५ घरधुरीमा बिजुली बलेको हो ।
कोट साभुङमा राखिएको ट्रान्सफर्मरमार्फत् साविक भगवतीपुरको रामकोट, जितपुर, थामडाँडा, फूला, गुरुङगाउँ र सिप्लुङका घरमा विद्युत् सेवा पुगेको स्थानीयवासी सुमनकुमार श्रेष्ठले बताए । स्थानीयवासी मोहन रानाभाटले टुकीको भरमा बाँच्न बाध्य भएका यहाँका स्थानीयवासी बत्ती बाल्न पाएपछि खुशी भएको बताए ।
तत्कालीन जिल्ला विकास समितिले दुई वर्षअघि पोल र तारमात्र जडान गरेको थियो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले विद्युत् नपुगेका ठाउँमा विद्युत् जडानको पहल भइरहेको बताए । उनका अनुसार गाउँपालिकाको वडा नं १ मा विद्युत् विस्तारको काम भइरहेको छ । रासस