मूर्तिकार नाग औषधिका खोलबाट मूर्ति बनाएर  लाखौँमा बेच्छन्

अहिले उनको मूर्तिकला व्यावसायिक बनेको छ । एउटा चित्र लाखौँमा बिक्री गर्ने गरेको उनले बताए । काठमाडौंमा प्रदर्शन गरिएका चित्रका मूल्य भने ५० हजार भारुसम्मका छन् ।

काठमाडौं । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता(खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला ।

एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बनेका छन् । उनका यी मूर्तिहरु अहिले काठमाडौंको नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ ।

गीतकारका साथै रेल चालकसमेत रहेका नाग कुशल मूर्तिकारसमेत हुन् । सानैदेखिको सोखका कारण उनले फालिएको ट्याबलेटका खोलबाट चित्र बनाउँदै आएका छन् । अहिले उनको मूर्तिकला व्यावसायिक बनेको छ । एउटा चित्र लाखौँमा बिक्री गर्ने गरेको उनले बताए । काठमाडौंमा प्रदर्शन गरिएका चित्रका मूल्य भने ५० हजार भारुसम्मका छन् ।

उनले फ्याँकिएका ट्याबलेटका खोलबाट बनाएको भगवान् गणेशले भायोलिन बाजा बजाउँदै गरेको तस्वीर सुन्दर लाग्छ । पाँच दिनदेखि जारी इन्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा उनका मूर्तिले धेरैको मन जितेको छ ।

अझ फालिएका औषधिका पत्ताबाट बनाइएको भनेपछि धेरै प्रश्न आउने गरेको कलाकार वीमानले बताए । ‘नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले चित्र अवलोकन गर्र्दा साह्रै राम्रो र उपयोगी काम भनेर प्रशंसा नै गर्नुभयो’, वीमानले अनुभव सुनाए।

काठमडौंमा भएको प्रदर्शनीमा गणेशसहित बुद्ध, बिरालो, मुकुण्डो र दुर्गामाताको मूर्ति छ । फालिएका वस्तुसमेत उपयोगी हुनसक्छ भनेर आफूले मूर्ति प्रदर्शनीका लागि नेपाल ल्याएको उनको भनाइ छ । गाउँ चहारेर ट्याबलेटका खोल सङ्कलन गर्ने गरेको भन्दै उनले धेरै साथीभाइ आफन्त र चिनेजानेको ठाउँमा सङ्कलन अभियान नै चलाउने गरेका छन् ।

यसरी मूर्ति बनाउने आफू भारतको एकमात्रै कलाकार भएको दाबी गर्ने उनको मूर्तिमा भने कुनै पनि बाह्य रङ प्रयोग गर्दैनन् । उनीसँगै पत्नी शाम्पा नाग पनि छिन् । ‘बीस वर्ष अघि नेपाल घुमेर मात्रै गइयो, यसपालि मूर्तिकला प्रदर्शनीसँगै यहाँको पशुपतिनाथ र स्वयम्भूलगायत ठाउँ घुम्ने मौका मिल्यो, साहै्र सुन्दर, प्रकृतिले भरिपूर्ण छ नेपाल, नेपालीको सहयोगीभावले हर्षित बनाएको छ ।’ शाम्पाले भनिन् ।

प्रदर्शनीमा भारतका १० कलाकारका चित्रकला राखिएको छ । यस्तै नेपाली चौबीस चित्रकारका चित्र समावेश छन् । एकजना बङ्गलादेशका चित्रकारका चित्र पनि छ । चित्रकला प्रदर्शनीका संयोजक सपना शाहका अनुसार यहाँ नेपाल, भारत, बङ्गलादेश र बेलायतका ३६ चित्रकारका ६५ भन्दा बढी चित्रकला, पाँच मूर्तिकला र एक भिडियोकला प्रदर्शनमा छ ।

प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशको कला, संस्कृति, रहनसहन, रीतिरिवाज, जीवनशैली, मुहार चित्र समावेश छ । नेपाल र भारतबीच सांस्कृतिक आदानप्रदान गरी शान्ति र मानवताको सम्बन्ध विस्तार गर्दै आपसी सद्भावका लागि ‘इन्डो–नेपाल कला उत्सव’ आयोजना गरिएको हो । रासस