विदेशबाट प्याकेजिङ सामग्री ल्याउँदा १ प्रतिशत भन्सार, स्वदेशी उद्योगबाट खरिद गर्दा २८ प्रतिशत किन ?

सरकारले स्वदेशी उद्योगलाई प्रवर्धन र आयातलाई निरुत्साहित गर्ने नीति बनाउनुपर्नेमा आयातलाई प्रोत्साहित गर्ने खालको नीति अवलम्बन गरिरहेको छ । एकातिर स्वदेशी उद्योग चल्न धौधौ भएको छ भने अर्कोतिर व्यापार घाटा बढाउन पनि सरकारी नीतिले टेवा पुर्याइरहेको छ ।

नेपालमा अहिले वार्षिक १ अर्ब रुपैयाँबराबरको औषधिका प्याकेजिङ सामग्री आयात हुने गरेको छ । नेपालमा औषधि उत्पादन गरे पनि त्यसलाई प्याकेजिङ गर्ने सम्पूर्ण सामग्री भारतसहित तेस्रो मुलुकबाट आयात भइरहेको छ । त्यो पनि १ प्रतिशत भन्सारमा ।

औषधि व्यवस्था विभागको स्वीकृति लिएपछि स्वदेशी औषधि उद्योगले एक प्रतिशत भन्सार तिरेर औषधिका प्याकेजिङ सामग्री विदेशबाट ल्याइरहेका छन् ।

विदेशबाट औषधिका लागि अत्यावश्यक पर्ने प्याकेजिङ सामग्री (कच्चा पदार्थ) ल्याउँदा एक प्रतिशत भन्सार तिरेर ल्याउन पाइन्छ भने, त्यही प्याकेजिङ सामग्री नेपाली उद्योगसँग किन्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १५ प्रतिशत अन्त:शुल्क तिर्नुपर्छ । एउटै सामग्री विदेशबाट ल्याउँदा १ प्रतिशत र नेपाली उद्योगसँगै किन्दा २८ प्रतिशत कर तिर्नुपर्छ । अनि कसरी प्याकेजिङ उद्योग बाँच्न सक्छ ?

सरकारले स्वदेशी उद्योगलाई प्रवर्धन र आयातलाई निरुत्साहित गर्ने नीति बनाउनुपर्नेमा आयातलाई प्रोत्साहित गर्ने खालको नीति अवलम्बन गरिरहेको छ । एकातिर स्वदेशी उद्योग चल्न धौधौ भएको छ भने अर्कोतिर व्यापार घाटा बढाउन पनि सरकारी नीतिले टेवा पुर्याइरहेको छ ।

प्याकेजिङ सामग्री किन्नकै लागि मात्रै नेपालका ३६ ओटा औषधि उद्योगले वार्षिक रुपमा १ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिर पठाउने गरेका छन् । सरकारले विदेशबाट आउँदा लाग्ने शुल्क र स्वदेशमै किन्दा लाग्ने शुल्कमा बराबर दर बनाइदिएमा कुन उद्योगले बाहिरबाट यस्ता सामग्री बनाउँछ ?

देशभित्र उद्योग चाहिएको हो भने सरकारले त्यस्ता खाले नीति बनाउन आवश्यक छ । एकातिर उद्योग पनि चाहिन्छ, रोजगारी पनि सिर्जना गर्नु छ भन्ने, अकोतिर उद्योग धन्दालाई बन्द गराउने गरी भन्सार छुट दिने प्रचलनको अन्त्य हुन आवश्यक छ ।

स्वदेशी उद्योगले प्याकेजिङ सामग्री बनाइरहेका छन् । १ प्रतिशत भन्सार तिरेर आएका सामग्रीसँग अहिले प्रतिस्पर्धा पनि गरिरहेकै छन् । औषधि उद्योगीले पनि एक प्रतिशतमै ल्याउन पाइरहेको अवस्थामा २८ प्रतिशत तिरेर नेपालमै बनेका प्याकेजिङ सामग्री किन किन्छ ?

सरकारको अव्यावहारिक नीतिका कारण एकातिर नेपालबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिरहेको छ भने अर्कोतिर १ प्रतिशत भन्सार तिरेर नेपाल भित्रिने प्याकेजिङ सामग्रीको गुणस्तर समेत परीक्षण हुँदैन । तर, नेपालमा उत्पादित प्याकेजिङ सामग्रीको हरेक दिन गुणस्तर परीक्षण हुन्छ ।

औषधिको प्याकेजिङ सामग्री एकदमै संवेदनशील हुन्छ । प्याकेजिङ सामग्रीबाट घामसमेत छिर्नुहुँदैन । यदि घाम छिर्यो भने त्यो औषधिले कुनै काम गर्दैैन । अहिले नेपालमा भित्रिएका प्याकेजिङ सामग्रीको गुणस्तर के कस्तो छ भन्ने पनि थाहा हुँदैन ।

कसरी फस्टाउँछ नेपालको उद्योग धन्दा

सरकारले स्वदेशी उद्योग र विदेशी उद्योगलाई समान रुपले हेर्नुपर्छ । अझ स्वदेशी उद्योगलाई प्रवर्धन गर्न विदेशबाट आयात हुने वस्तुमा बढी भन्सार लगाउनु पर्ने हो । त्यसो हुन नसके पनि समान त बनाउनुपर्यो । तत्र कसरी स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न सक्छ ?

उसै पनि विदेशीको तुलनामा नेपाली उद्योगको उत्पादन लागत एकदमै महँगो छ । स्वदेशी उद्योगको उत्पादन लागत महँगो हुनेबित्तिकै विदेशी आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न सक्दैन, अझ यहाँ त विदेशबाट आयात गर्दा १ प्रतिशत भन्सार छ भने, नेपालकै सामान किन्दा २८ प्रतिशत कर लाग्छ । अनि कसरी फस्टाउँछ स्वदेशी उद्योग ?

लेखक : पूर्वसिनियर फर्मासिस्ट, औषधि व्यवस्था विभाग