सुनसरी चतरा–विद्युतगृह बन्द

बराह क्षेत्र चतराको सिँचाइ नहरमा सप्तकोशी नदीबाट आउने बालुवा छान्नका लागि मूल नहरमा प्रयोगमा राखिएका ड्रेजर मेसिन चलाउन निर्माण गरिएको ३ दशमलव २ मेगावाट क्षेमताको विद्युत् उत्पादन उपकरण बिग्रिएको छ । जसका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा थप भएको विद्युत् प्रसारणमा कमी आएको छ ।

सुनसरी जिल्लाको बराह नगरपालिका–१ स्थित चतराको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूल नहरमा निर्माण गरिएको चतरा विद्युत् उत्पादन गृहको दुवै टर्बाइनको विद्युत् उत्पादन उपकरण बिग्रिएपछि विद्युत् उत्पादन कार्य पूर्णरुपमा बन्द हुन पुगेको छ ।

बराह क्षेत्र चतराको सिँचाइ नहरमा सप्तकोशी नदीबाट आउने बालुवा छान्नका लागि मूल नहरमा प्रयोगमा राखिएका ड्रेजर मेसिन चलाउन निर्माण गरिएको ३ दशमलव २ मेगावाट क्षेमताको विद्युत् उत्पादन उपकरण बिग्रिएको छ । जसका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा थप भएको विद्युत् प्रसारणमा कमी आएको छ ।

झण्डै एक दशकअघि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण गृहमा जोडिएको चतरा विद्युत् गृहमा रहेका दुईओटै टर्बाइन उपकरणमा खराबी आएर विद्युत् उत्पाद हुन नसक्दा विद्युत् उत्पादन गृह बन्द गर्नुपरेको त्यहाँका इञ्जिनियर विमलप्रसाद पाण्डेयले जानकारी दिए ।

विसं २०६७ मा नै युनिट दोस्रो टर्बाइन मेसिन बिग्रेपछि त्यसको पार्टपूर्जाबाट चल्दै आएको युनिट पहिलो पनि विसं २०७१ देखि चल्न नसकेर बन्द हुन पुगेको इञ्जिनियर पाण्डेयले जानकारी गराएका छन् । जर्मन प्रविधिका ती उपकरण मर्मतमा आवश्यक उपकरण माग गरिएको भए पनि आई नपुगेको उनले बताए ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाले मोरङ र सुनसरीको ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सिँचाइ आयोजना स्तरोन्नति गर्दै नहरमा आउने बालुवा छान्नका लागि राखिएका दुईओटा ड्रेजर मेसिनमध्ये एउटा मेसिन बिग्रिएर थन्किएको छ ।

नहरको बालुवा छान्न प्रयोग गरिँदै आएको बाँकी रहेको एउटा ड्रेजर मेसिन पनि अस्थायी ज्यालादारी कर्मचारी आन्दोलनका कारण पूर्णतः बन्द हुन पुगेको छ । मेसिन बिग्रिनु र कर्मचारी आन्दोलनका कारण थिलथिलो बन्न पुगेको सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गतको विद्युत् उत्पादन गृहका मेसिनसमेत थन्किएर ३ दशमलव २ मेगावाट विद्युत् समेत उत्पादन नहुँदा ड्रेजर मेसिन पनि पूर्ण बन्द भएका छन् ।

जर्मन प्रविधिका महँगा विद्युत् उत्पादन उपकरण सञ्चालनमा लागि चाहिने उपकरण आपूर्तिमा पनि लामो समय लाग्ने र मर्मत खर्चसमेत निकै महँगो पर्ने भएकाले चतराको विद्युत् उत्पादन गृह सजिलै सञ्चालनमा आउन सक्ने सम्भावना कम रहेको बताइएको छ ।

रासस