कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण सुरु गरिएको हो । ४२.८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज गरिने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए ।
फिदिम । पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०.०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण सुरु गरिएको छ ।
मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण सुरु गरिएको हो । ४२.८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज गरिने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । इलामको गोदकदेखि फिदिमको थापाटारसम्मको यस खण्डमा १२६ टावर छन् ।
कोरिडोरको तेस्रो खण्ड फिदिम–अमरपुरमा भने टावर गाढ्ने काम पूरा हुन लागेको छ । ‘एउटा टावर गाढ्न बाँकी छ’, आयोजना प्रमुख द्विवेदीले भने ।
आर्थिक वर्ष २०६२/६३ बाट शुरु भएको आयोजनाको निर्माणकार्य भने २०६६/६७ मा सुरु भएको थियो । पाँचथरको फिदिम र इलामको सिद्धिथुम्का क्षेत्रमा मुआब्जा वितरणमा विवाद हुँदा वर्षौँसम्म आयोजनाको निर्माणकार्य अवरुद्ध भएको आयोजना प्रमुख द्विवेदीको भनाइ छ । यस्तै टावरका लागि आवश्यक पर्ने १.५३ हेक्टर वन क्षेत्रका रुख कटानीका गर्न समयमै माथिल्ला निकायबाट आदेश नआउँदा आयोजनाको निर्माणकार्य एक दशकसम्म पुगेको हो ।
सो कोरिडोरअन्तर्गत चार सवस्टेशन निर्माण गरिएका छन्, झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिम र पाँचथरकै अमरपुरमा । २५ करोड लागतले दमक सवस्टेशन सुरुमै निर्माण सम्पन्न भएको थियो ।
बाँकी तीन सवस्टेशन निर्माणको लागत ५५ करोड रुपैयाँ थियो । तीन ओटै सवस्टेशन दुई वर्षअघि निर्माण सम्पन्न भइसकेका छन् । सबै सवस्टेशन चार्ज भई सञ्चालनका लागि तयार रहेको द्विवेदीले बताए ।