आगामी जनगणनाका लागि ५ अर्ब खर्च गरिँदै, ५० हजार गणक परिचालन हुने

अघिल्लो जनगणनामा २ अर्ब रुपैयांँ खर्च भएको थियो । तर, यो वर्ष बढाएर ५ अर्ब खर्च प्रक्षेपण गरिएको केन्द्रीय तथ्यांक विभाग एवं तथ्यांक कार्यालय चितवनले जनाएको छ ।

चितवन । २०७८ सालमा गरिने राष्ट्रिय जनगणनाको लागि ५ अर्ब खर्च प्रक्षेपण गरिएको छ भने ५० हजार गणक परिचालन गरिने भएको छ ।
अघिल्लो जनगणनामा २ अर्ब रुपैयांँ खर्च भएको थियो । तर, यो वर्ष बढाएर ५ अर्ब खर्च प्रक्षेपण गरिएको केन्द्रीय तथ्यांक विभाग एवं तथ्यांक कार्यालय चितवनले जनाएको छ ।

आइतबार भरतपुरमा आयोजना गरेको राष्ट्रिय जनगणना–२०७८ को तयारी सम्बन्धी बिषयक गोष्ठीमा कार्यालयले २०६८ सालको जनगणनामा ३० हजार गणक परीचालन भएको भए पनि अहिले विभिन्न सूचकहरु थपिएको र सुक्ष्मरुपले गणना गनु पर्ने भएकाले गणक र खर्च दुबै थपिने बताएको हो ।

गोष्ठीमा केन्द्रीय तथ्यांक विभाग, जनसंख्या शाखा निर्देशक ढुन्डीराज लामिछानेले समयको अन्तरालसंंँगै कर्मचारीको तलब, सेवासुविधाका साथै छपाई सम्बन्धी कार्यमा बढी खर्च हुने भएकोले ५ अर्ब खर्च अनुमान हुने बताए । उनका अनुसार संघीय संरचनाअनुसार तीन ओटै तहसंँग समन्वय गरी तल्लो तहबाट विभिन्न चरणमा जनगणना गर्न लागिएको हो ।

अहिले सुगम र दुर्गम गरी दुई प्रकारले गणना गर्ने तयारी गरेको र अघिल्लो जनगणनाभन्दा पृथक एवं प्रविधिमैत्री बनाइने लामिछानेले बताए ।
लामिछानेकाअनुसार शहरी इलाकामा ट्याबोलोइट, सफ्टवेयर एवं इन्टरनेटको माध्यमबाट तथ्यांक संकलन गरिने छ भने दुर्गमा क्षेत्रमा कागजी प्रक्रियाबाट तथ्यांक संकलन गरिने छ ।

तथ्यांक कार्यालयले चितवन जिल्लाको हरेक क्षेत्रको खाका तयार गर्नुका साथै स्थानीय तहसंँग समन्वय गरी पूर्वतयारी गर्ने काम गरिरहेको छ । विभागले २०७८ साल असार १ देखि १५ गतेसम्म जनगणनाको मिति तोकेको छ ।