न्याधीशद्वय सपना प्रधान, मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजालसमा एनसेलको मुद्दाको सुनुवाई हुन लागेको हो ।
काठमाडौं । मोवाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडले ठूला करदाता कार्यलयले गरेको लाभकर निर्धारणको विरुद्ध हालेको मुद्दाको विषयमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने हुँदै छ ।
न्याधीशद्वय सपना प्रधानमल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजालसमा एनसेलको मुद्दाको सुनुवाइ हुन लागेको हो । ठूला करदाता कार्यालयले गरेको लाभकर निर्धारणविरुद्ध एनसेलले दायर गरेको मुद्दामा सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अन्तरिम आदेश दिएका थियो ।
एनसेलकातर्फबाट अधिकार प्राप्त रमेश घिमिरेले कार्यलयका कर अधिकृत ओमप्रकाश भट्टराईविरुद्धमा मुद्धा दायर गरेका थिए ।
ठूला करदाता कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गर्दै बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिनभित्र तिर्न पत्राचार गरेको थियो ।
कर तिर्न १ दिन बाँकी हुँदा उसले वैशाख ९ गते कर निर्धारण प्रक्रिया ठिक नभएको भन्दै सरकारविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेलसमेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले बिक्रीमा लाग्ने पुँजीगत लाभकर एनसेलबाटै असुल गर्न आदेश दिएको थियो । १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० रुपैयाँ मात्र लाभकर तिर्न बाँकी रहेको एनसेलको दाबी छ ।
कर कार्यलयले एनसेलबाट ८० प्रतिशत स्वामित्व बिक्री गर्दा लाग्ने कर निर्धारण गरेको हो । एनसेलले २५ प्रतिशत आयकर बापत ३५ अर्ब ९१ करोड ३४ लाख, ऐन बमोजिमको शुल्क १८ अर्ब ३३ करोड र ब्याज ८ अर्ब ३९ करोड रुपैयाँ निर्धारण गरेको छ । एनसेलले अग्रिम रुपमा २१ अर्ब ५४ करोड ८० लाख र बिलम्व बापत २ अर्ब २ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको ठूला करदाता कार्यलयले जनाएको छ ।
सर्वोच्च अदालतले गत माघ २४ गते लाभकर एनसेल र मलेसियाको आजियटा वनहार्डले तिर्नुपर्ने परमादेश जारी गरेपछि ठूला करदाता कार्यलयले कर निर्धारण गरेको हो ।
सर्वोच्चले लाभकर भुक्तानी नभएसम्म एनसेललाई लाभांश वितरण र स्वामित्व किनबेचमा रोक लगाउन सरकारका नाममा परामदेश जारी गरेको थियो ।एनसेलको ८० प्रतिशत स्वामित्वकर्ता रेनोल्ड होल्डिङस र टेलिसोनेरिया स्वीडेनले आजियटा वनहार्ड मलेशियालाई १ खर्ब ४३ अर्ब ३७ करोड ३५ लाख रुपैयाँमा बिक्री गर्दा टेलिसोनेरियाको नाममा ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ लाभकर निर्धारण गरेको थियो ।