केही महिनाअघि नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड लाइनको विषयलाई लिएर पत्रकार सम्मेलन गरेपछि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, सिमेन्ट उत्पादक सङ्घ र रड उत्पादक सङ्घले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् ।
काठमाडौं । ट्रङ्क तथा डेडिकेटेड लाइनको विवाद चुलिँदै गएपछि निजी क्षेत्रले संयुक्त ‘प्रेसमिट’ गर्ने भएका छन् । केही महिनाअघि नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड लाइनको विषयलाई लिएर पत्रकार सम्मेलन गरेपछि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, सिमेन्ट उत्पादक सङ्घ र रड उत्पादक सङ्घले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् । महासङ्घको हलमा भोलि संयुक्त पत्रकार सम्मेलन हुन लागेको हो ।
प्राधिकरणले पत्रकार सम्मेलन गरेर ट्रङ्क तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएका उद्योगीले जुनसुकै हालतमा पनि दोब्बर महसुल तिनुपर्ने धारणा सार्वजनिक गरेको थियो । त्यसपछि उद्योगीले प्राधिकरणले कानुनको उल्लङ्घन गरेको भन्दै विरोध जनाउँदै आएका थिए ।
तर, अहिलेसम्म निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्न सकेका थिएनन् । तर, उद्योगीको चौतर्फी दबाब परेपछि महासङ्घले बाध्य भएर पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।
‘उद्योगीले धेरै पटक महासङ्घले यस विषयमा बोल्नु पर्यो भन्दै अध्यक्ष भवानी राणालाई भेटिसकेका थिए,’ एक उद्योगीले भने, ‘तर, महासङ्घले उद्योगीको समस्यालाई आफ्नो समस्याका रुपमा लिएको थिएन ।’
प्राधिकरणले सुविधै नलिएका उद्योगले डेडिकेटेडसरह महसुल तिर्न उद्योग–उद्योगमा पत्राचार गरेपछि निजी क्षेत्र त्यसको विरोधमा उत्रिएको हो ।
उद्योगीले मात्रै बोल्दा उनीहरुको आवाज सुनुवाइ नभएको भन्दै उद्योगीले महासङ्घ तथा परिसङ्घलाई पनि यसमा सहभागी बनाएका हुन् ।