काठमाडौँका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान छनोट गरेर ट्राफिक बत्ती जडान भइरहेको सडक विभागले जनाएको छ । यसअघि ट्राफिक बत्ती भएर पनि बिग्रिएका ठाउँमा र पहिले नभएका दुवै खालका स्थान छनोट भएको छ ।
काठमाडौं । काठमाडौंका आठ स्थानमा ट्राफिक बत्ती जडान सुरु भएको छ । कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो ।
काठमाडौँका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान छनोट गरेर ट्राफिक बत्ती जडान भइरहेको सडक विभागले जनाएको छ । यसअघि ट्राफिक बत्ती भएर पनि बिग्रिएका ठाउँमा र पहिले नभएका दुवै खालका स्थान छनोट भएको छ ।
ठेकेदार कम्पनीले कालीमाटी चोकमा बत्ती जडान गरिसकेको र पद्मोदय घुम्ती र सिंहदरबारअघि जडान गर्ने काम अन्तिम चरणमा पुगेको विभागका सुरक्षा तथा ट्राफिक शाखा महाशाखाका प्रमुख दीप बाराहीले बताए । तीनकुने, पुरानो बानेश्वर र मित्रपार्कमा पोल निर्माणको काम भइरहेको उनले बताए । उनले भने, ‘यी सबै स्थानमा आगामी महिनासम्ममा काम सम्पन्न हुने हामीले आशा गरेका छौँ ।’
अहिले बत्ती जडान भएका स्थानमा पहिले एक साता बत्तीको परीक्षण हुने र ट्राफिक प्रहरीलाई तालिम दिइने प्रमुख बाराहीले बताए । उनका अनुसार ट्राफिक बत्ती विभिन्न समय र मौसममा कुनै खराबी नदेखिएमा एक महिनामा नै नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको छ ।
काठमाडौँमा वर्षेनी सवारीको चाप बढिरहे पनि ठाउँठाउँमा ट्राफिक बत्ती नहुँदा सवारी चाप र दुर्घटना हुने गरेको छ । काठमाडौँमा मात्रै झण्डै २०० स्थानमा स्थानीयवासीले ट्राफिक बत्तीको माग गरिरहेको बताउँदै प्रमुख बाराहीले भने, ‘विभागले गरेको अनुसन्धानमा पनि ६० स्थानभन्दा बढी स्थानमा ट्राफिक बत्ती आवश्यक देखिएको छ, हाल ललितपुर र भक्तपुरमा तीन/तीन स्थानमा मात्रै ट्राफिक बत्ती छन् ।’
उनले भने, ‘एक वर्षको बजेटले जति ठाउँमा बनाउन सकिन्छ, बाँकी स्थानमा अर्काे वर्षको बजेटले बनाउने योजना छ ।’ यसअघि काठमाडौं जिल्लामा जम्मा २० स्थानमा ट्राफिक बत्ती भए पनि जम्मा पाँच वटा मात्रै सञ्चालनमा थिए । एक करोड नौ लाख रूपैयाँको लागतमा नेपाली प्राविधिकले नै बत्ती जडानको काम गरिरहेका छन् । रासस