पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले मङ्गलबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी ३४ पशु सेवा प्राविधिकलाई विभिन्न सात उपकरण प्रदान गरेको छ ।
दमौली । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ लाई सेवा सञ्चालनका लागि उपकरण प्रदान गरेको छ ।
पशुपालक कृषकको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यले मन्त्रालयले तनहुँ र नवलपुरका पशु सेवा प्राविधिकलाई विभिन्न उपकरण प्रदान गरेको हो । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले मङ्गलबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी ३४ पशु सेवा प्राविधिकलाई विभिन्न सात उपकरण प्रदान गरेको छ ।
उपकरण पाउनेमध्ये तनहुँका २० र नवलपुरका १५ पशु सेवा प्राविधिक रहेको प्रयोगशालाका प्रशिक्षक डा गणेश केसीले जानकारी दिए । उनका अनुसार पशु सेवा प्राविधिकलाई माइक्रोस्कोप, सर्जिकल सेट, खसी पार्ने उपकरण, न्टीफ्युजलगायतका उपकरण प्रदान गरिएको छ ।
माइक्रोस्कोप भने तनहुँमा चार र नवलपुरमा दुई मात्रै प्रदान गरिएको उहाँले जानकारी दिए । पशु सेवा प्राविधिकलाई करीब रु १४ लाखको उपकरण प्रदान गरिएको छ । पशु सेवा विभागमार्फत गत वर्ष नै वितरण गर्नुपर्ने ती उपकरण प्राविधिक कारणले वितरणमा ढिलाइ भएको थियो ।
उपकरण पाएसँगै कृषकको घरघरमै पुगेर सेवा दिन सहज हुने पशु सेवा प्राविधिक धनराज कुमालले बताउनुभयो । पशु सेवा प्राविधिकलाई उपकरण प्रदान गर्दै गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि र पशुपालनमा प्रदेशलाई आत्मनिर्भर बनाउन पशु प्राविधिकको महत्वपूर्ण भूमिका रहने बताए । उनले समयमै उपचार नपाउँदा पशुको मृत्युसमेत हुनसक्ने भएकाले पशु प्राविधिक त्यसप्रति बढी संवेदनशील हुनुपर्नेमा जोड दिए ।
मन्त्री थापाले कृषिमा श्रमप्रतिको विश्वास जगाउन आवश्यक रहेकामा जोड दिँदै कृषकलाई काम गर्ने वातावरण सिर्जना गर्न प्रदेश सरकार सदैव क्रियाशील रहेको प्रतिबद्धता जनाए ।
युवापुस्तालाई कृषिमा आकर्षण गर्नका लागि नीति बनाउन सरकार लागिपरेको बताउँदै उनले कृषिलाई सम्मानित पेशा बनाइने बताए । रासस