कम्पनीले तनहुँको शुक्लागण्डकी नगरपालिकामा सोलार प्लान्ट राखेर वार्षिक ९६ लाख युनिट बिजुली उत्पादन गर्ने भएको
काठमाडौं । सोलार फार्म प्राइभेट लिमिटेडले सोलार प्रविधिबाट ५ मेगावाट क्षेमताको बिजुली उत्पादन गर्ने भएको छ । कम्पनीले तनहुँको शुक्लागण्डकी नगरपालिकामा सोलार प्लान्ट राखेर वार्षिक ९६ लाख युनिट बिजुली उत्पादन गर्ने भएको हो ।
सोलारबाट विद्युत उत्पादन गर्न कम्पनीले विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले आउँदो ३५ दिनपछि कम्पनीलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली ३३ केभी प्रसारणलाइनमार्फत तनहुँको खैरेनीस्थित सवस्टेसनमा जोडिने भएको छ । आयोजनाको संरचना भानुभक्त बहुमुखी क्याम्पस परिसरमा पर्ने विभागले जनाएको छ ।
मिश्रित ऊर्जा उत्पादन गर्नका लागि सरकारले सोलार प्रविधिबाट बिजुली उत्पादन गर्न निजी क्षेत्रलाई लाइसेन्स दिन थालेको छ । निजी क्षेत्रले धमाधम सोलार प्रविधिबाट बिजुली उत्पादन गर्न लाइसेन्स माग्न थालेका छन् ।