सबै आयोजना सहायक कम्पनीमार्फत निर्माण सुरु भएको छ । सानिमाले २८५ मेगावाटको माथिल्लो तमोर, ६२ मेगावाटको जुमखोला र ७.५ मेगावाटको माथिल्लो मैलुङखोला ‘बी’ आयोजना पनि निर्माणको तयारीमा छ ।
काठमाडौं । गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित सानिमा ग्रुप पछिल्लो समयमा जलविद्युत आयोजना निर्माणमा आक्रामक भएर लागेको छ । सानिमाले साना र ठूला गरी झन्डै ५०० मेगावाट जडित क्षमताका आधा दर्जन जलविद्युत आयोजनामा आफ्नो लगानी विस्तार गरेको छ ।
पछिल्लो समयमा ग्रुपले सानिमामाई हाइड्रोपावर लिमिटेडमार्फत २२ मेगावाटको सानिमा, ७ मेगावाटको सानिमा क्याकेड र २.५ मेगावाटको सुनकोसी साना गरी ३१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ । सानिमा ग्रुपले २८.१ मेगावाटको तल्लो लिखु र ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको निर्माण सुरु गरिसेको छ ।
यस्तै १४.३ मेगावाटको माथिल्लो मैलुङखोला पनि निर्माण सुरु गरिसकेको कम्पनीले जनाएको छ । यी सबै आयोजना सहायक कम्पनीमार्फत निर्माण सुरु भएको छ । सानिमाले २८५ मेगावाटको माथिल्लो तमोर, ६२ मेगावाटको जुमखोला र ७.५ मेगावाटको माथिल्लो मैलुङखोला ‘बी’ आयोजना पनि निर्माणको तयारीमा छ ।
सानिमा हाइड्रो समूहले निर्माण सुरु गरेको ३ ओटै आयोजना २०७७ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तल्लो लिखु आयोजना स्वेतगंगा हाइड्रोपावर एन्ड कन्ट्रक्सन लिमिटेड, मध्यतमोर सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड, माथिल्लो मैलुङखोला माथिल्लो मैलुङखोला जलविद्युत हाइड्रोपावर लिमिटेड र माथिल्लो तमोर, तमोर सानिमा इनर्जी लिमिटेडमार्फत निर्माण गर्ने भएको छ ।
प्रस्तावित आयोजनाका काम अघि बढाउन सानिमा माइले ६५ करोड ३२ लाख रुपैयाँ अग्रिम लगानी गरेको जानकारी दिएको छ । यी आयोजनामा सानिमा माइले १ अर्ब ८ करोड ८२ लाख ५० हजार रुपैयाँ स्वपुँजी (इक्विटी) लगानीको योजना तयार पारेको छ । बाँकी लगानी बैंङ्क तथा वित्तीय संस्थाबाट जुटाउने योजना सानिमाको छ ।
गत चैतसम्म सानिमा माईले २२ करोड ९३ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २० करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । ९ महिनामा सानिमा माईले ६० करोड २८ लाख रुपैयाँ बराबरको बिजुली नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको छ ।
सानिमा माईको खुदसम्पत्ति (नेटवर्थ) बढेर १२२ रुपैयाँ ९७ पैसा र प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ८८ पैसा रहेको कम्पनीले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको पुँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ पुगेको छ ।