छ महिनामा निर्यात १३.४ प्रतिशत बढ्यो

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगन्ज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भए पनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७४÷७५ को पहिलो छ महिनामा वस्तु निर्यात १३.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा ४१ अर्ब १४ करोड रुपैयाँबराबरको वस्तु विदेश निर्यात भएको छ । आव २०७३/०७४ को सोही अवधिमा निर्यात १४.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ १३.१ प्रतिशत, चीनतर्फ ७०.२ प्रतिशत र अन्य मुलुकतर्फ १०.३ प्रतिशतले निर्यात बढेको छ ।
वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पती घ्यू, जी सिट, धागोलगायतका वस्तुको निर्यात बढेको छ । जुस, अलैंची, जीआई पाइप, उनी गलैँचा, तामाका तारलगायत वस्तुहरुको निर्यात भने घटेको छ ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगन्ज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भए पनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले बढी रु. ४९३ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ७४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.८ प्रतिशत थियो ।