जनप्रतिनिधिको तलब शिक्षामा

वडाध्यक्ष पोखरेलले विद्यालयलाई सहयोग गर्ने ७८ हजारमध्ये ५० हजार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु घिमिरे र प्रधानाध्यापक माधव पोखरेललाई बुधबार हस्तान्तरण गरेका छन् ।

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गरेका छन् । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष पोखरेलले आफ्नो तलबमध्येबाट ७८ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

प्राथमिक विद्यालयमा निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयलाई समस्या परेपछि आफूले केही सहयोग गरेको वडाध्यक्ष पोखरेलले बताए । वडाध्यक्ष पोखरेलले विद्यालयलाई सहयोग गर्ने ७८ हजारमध्ये ५० हजार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु घिमिरे र प्रधानाध्यापक माधव पोखरेललाई बुधबार हस्तान्तरण गरेका छन् ।

माध्यमिक विद्यालयमा सबैको चासो भएपनि प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि कम मात्रामा चासो हुने गरेकोले आफ्नो तलबवापतको रकम प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि खर्च गर्ने उद्देश्य राखेको गाउँपालिकाका प्रवक्तासमेत रहेका पोखेरेलले बताए ।

उनले भने, ‘प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि धेरैको ध्यान जान सकेको छैन । मैले तलब बापतको १० हजार रुपैयाँ मासिकरूपमा प्राथमिक विद्यालयलाई दिने छु ।’ उनका अनुसार सोही वडाको ज्योति प्राथमिक विद्यालय र भङ्गेरी प्राथमिक विद्यालयलाई समेत वार्षिक २६÷२६ हजार रुपैयाँका दरले सहयोग गरिने बताएका छन् ।

बन्दीपुर गाउँपालिका वडा नं १ मा तीन प्राथमिक विद्यालय सञ्चालनमा छन् । ती सबै विद्यालयलाई आफू जनप्रतिनिधिमा बहाल रहेसम्म आर्थिक सहयोग गर्ने वडाध्यक्ष पोखरेले जानकारी दिए ।

जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक माधव पोखरेलले वडाध्यक्षको सहयोगले निजी दरबन्दीमा शिक्षक राख्न र विद्यालयको शैक्षिक सुधारमा टेवा मिल्ने बताए । उनले भने, ‘निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयसँग ठूलो स्रोत छैन । वडाध्यक्षको सहयोगले विद्यालय प्रशासनलाई राहत मिलेको छ ।’ रासस