जलविद्युतमा सबैभन्दा धेरै लगानी गर्ने कम्पनीहरुमा, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) र सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडल हुन् । यी ३ कम्पनीले मात्रै झन्डै ३ हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण अघि बढाएका छन् ।
काठमाडौं । पछिल्लो समयमा जलविद्युत्का क्षेत्रमा लगानी गर्ने कम्पनीहरुका बीचमा ३ ओटा कम्पनी आक्रामकरुपमा लगानी विस्तार गर्ने कम्पनीका रुपमा आगडि आएका छन् ।
जलविद्युतमा सबैभन्दा धेरै लगानी गर्ने कम्पनीहरुमा, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) र सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडल हुन् । सार्वजनिक र निजी क्षेत्रबाट स्थापना भएका यी ३ कम्पनीले मात्रै झन्डै ३ हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण अघि बढाएका छन् ।
संस्थागत रुपमा ३ ओटैले सहायक कम्पनीमार्फत आयोजनाको काम अघि बढाएका छन् । चिलिमे र बीपीसीमा सरकारको पनि लगानी छ । सानिमामा निजी क्षेत्रको मात्र लगानी रहेको छ ।
२२ मेगावाटको चिलिमे आयोजना निर्माण गरेर लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आएको चिलिमेले हाल २७० मेगावाट क्षमताका ४ ओटा आयोजना निर्माण गरिरहेको छ । चिलिमेले सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी, ५७ मेगावाटको माथिल्लो र तल्लो सान्जेन आयोजना निर्माण गरिरहेको छ ।
सान्जेन र रसुवागढीबाट मंसिर र फागुनभित्र बिजुली उत्पादन हुने छ । मध्यभोटेकोसीबाट केही ढिलाइ हुने चिलिमेले जनाएको छ । ४ ओटै आयोजनाले सर्वसाधारणलाई सेयर निष्कासन गरिसकेका छन् । चिलिमेले ६३८ मेगावाटका ५ ओटा जलविद्युत आयोजना बनाउने भएको छ ।
कम्पनीले ६० मेगावाटको बूढीगण्डकी स्यारखोला, १०० मेगावाटको बूढीगण्डकी प्रोक, २४० मेगावाटको बुढीगण्डकी प्रोक ‘२’, ७५ मेगावाटको बुढीगण्डकी क र १६३ मेगावाटको सेती नदी ‘तेस्रो’ आयोजना बनाउन लागेको हो । चिलिमेले आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको छ । विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम सकिएपछि आयोजनाको जडित क्षमता र लागतको खाका आउनेछ ।
पाँच ओटै आयोजना सरकारले जनताको जलविद्युतमा राखेको छ । जनताको जलविद्युतमार्फत साधारण सेयर (आईपीओ) निष्कासन हुनेछ । डेढ वर्षपछि चिलिमे र उसको सहायक कम्पनीबाट गरी २९२ मेगावाट बिजुली उत्पादन हुनेछ । हाल अयोजनाको सम्भाव्यता अध्ययन भइरहेको र केहीको सरकारबाट सम्भाव्यता अध्ययन अनुमतिपत्र (लाइसेन्स) पाउन बाँकी रहेको चिलिमेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए ।
निर्माण सम्पन्न, निर्माणाधीन र प्रस्तावित आयोजना सम्पन्न भएपछि चिलिमेले सहायक कम्पनीबाट मात्रै १ हजार बढी मेगावाट बिजुली उत्पादन गर्नेछ । चिलिमेले आर्थिक वर्ष ०६०÷६१ देखि बिजुली उत्पादन थालेको हो । २७० मेगावाटका ४ ओटा आयोजना सञ्चालनमा आएपछि आगामी २ वर्षदेखि चिलिमिले वार्षिक ६० करोड रुपैयाँभन्दा बढी लाभांश सहायक कम्पनीबाट पाउनेछ ।
४ आयोजनामा चिलिमेले साढे ५ अर्ब रुपैयाँ लगानी गरेको छ । चिलिमेमा नेपाल विद्युत प्राधिकरणको लगानी रहेको छ । यस्तै सरकारकोसमेत लगानी रहेको बुटवल पावरले जलविद्युतमा लगानी विस्तार गरिरहेको छ ।
१२ मेगावाटको झिम्रुक, ९ मेगावाटको आँधिखोला र ४ मेगावाटको खुदीखोला आयोजना सञ्चालन गरिरहेको बुटवलले आगामी ५ वर्षभित्र थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । ६० मेगावाटको माथिल्लो खिम्ती आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । खिम्तीबाट बीपीसीले वर्षेनी ५० करोड रुपैयाँ बढी लाभांश पाउँदै आएको छ ।
बीपीसीले लगानीकर्तालाई राम्रो प्रतिफल दिँदै आएको छ । उसले ३० मेगावाटको न्यादी र ३७ मेगावाटको कावेली ‘ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उसले चीनका एसीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडसंगको साझेदारीमा आउँदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने र यसका लागि २ अर्ब डलर अर्थात २ खर्ब रुपैयाँ बढी लगानी ल्याउने भएको छ । एसीआईजीमा बीपीसीको २० प्रतिशत स्वामित्व रहेको छ ।
बाँकी सिचुवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको ५१, चेन्दु सिच्याङ इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्विङयाङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको १२ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । साझेदारीमार्फत बीपीसीले ६०० मेगावाटको माथिल्लो मस्र्याङदी, ८ मेगावाटको चिनोखोला, १४० मेगावाटको लोअर मनाङमस्र्याङदी, १६० मेगावाटको मुगु कर्णाली आयोजना निर्माणको काम अघि बढाएको छ ।
यी आयोजनाको विस्तृत इन्जिनियरिङको काम भइरहेको बीपीसीले जनाएको छ । अध्ययन भइरहेकाले आयोजनाको जडित क्षमता बढ्ने बीपीसीले जनाएको छ । माथिल्लो मस्र्याङदी आयोजना भारतको जीएमआर इनर्जी लिमिटेडसंग खरिद गरेको हो । यस्तै गैरआवासिय नेपालीद्धारा प्रवद्र्धित सानिमा ग्रुप जलविद्युतमा आक्रमक भएर लागेको छ । सानिमाले साना र ठूला गरी झण्डै ५०० मेगावाट जडित क्षमताका आधा दर्जन जलविद्युत आयोजना निर्माण सुरु गरेको छ ।
ग्रुपले सानिमामाई हाइड्रोपावर लिमिटेडमार्फत २२ मेगावाटको सानिमा, ७ मेगावाटको सानिमा क्याकेड र २.५ मेगावाटको सुनकोसी साना गरी ३१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ । सानिमा ग्रुपले २८.१ मेगावाटको तल्लो लिखु र ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको निर्माण सुरु गरिसेको छ ।
यस्तै १४.३ मेगावाटको माथिल्लो मैलुङखोला पनि निर्माण सुरु गरिसकेको कम्पनीले जनाएको छ । यी सबै आयोजना सहायक कम्पनीमार्फत निर्माण सुरु भएको छ । सानिमाले २८५ मेगावाटको माथिल्लो तमोर, ६२ मेगावाटको जुमखोला र ७.५ मेगावाटको माथिल्लो मैलुङखोला ‘बी’ आयोजना पनि निर्माणको तयारीमा छ ।
तल्लो लिखु आयोजना स्वेतगंगा हाइड्रोपावर एन्ड कन्ट्रक्सन लिमिटेड, मध्यतमोर सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड, माथिल्लो मैलुङखोला जलविद्युत हाइड्रोपावर लिमिटेड र माथिल्लो तमोर सानिमा इनर्जी लिमिटेडमार्फत निर्माण गर्ने भएको छ । प्रस्तावित आयोजनाका काम अघि बढाउन सानिमा माइले ६५ करोड ३२ लाख रुपैयाँ अग्रिम लगानी गरेको जानकारी दिएको छ ।
यी आयोजनामा सानिमा माइले १ अर्ब ८ करोड ८२ लाख ५० हजार रुपैयाँ स्वपुँजी (इक्विटी) लगानीको योजना तयार पारेको छ । बाँकी लगानी बैंङ्क तथा वित्तीय संस्थाबाट जुटाउने योजना सानिमाको छ । सानिमा हाइड्रो समूहले निर्माण सुरु गरिएका आयोजना २०७७ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ पुगेको छ ।