हटेन सडकको धूलो, बरु बढ्यो माक्सको व्यापार

केही दिनअघि प्रधानमन्त्री स्वयमले पनि सर्वसाधारणले सडकमा माक्स लगाउन छाडेको दाबी गरेका थिए । तर, स्थानीय पैदलयात्रु र व्यापारीले नै धूलो कम नभएको बताइरहेका छन् ।

काठमाडौं । काठमाडौं महानगरले धूलोरहित सहर बनाउने भने पनि सडकको धूलो नहट्दा माक्सको व्यापार बढेको छ । मेडिकल, फेन्सी पसल, फुटपाथ तथा अनलाइन सपिङ साइटमा माक्सको व्यापार बढेको व्यापारीहरुले बताएका छन् ।

केही दिनअघि प्रधानमन्त्री स्वयमले पनि सर्वसाधारणले सडकमा माक्स लगाउन छाडेको दाबी गरेका थिए । तर, स्थानीय पैदलयात्रु र व्यापारीले नै धूलो कम नभएको बताइरहेका छन् । सडकको धूलो अझै पनि कम नभएको बालाजुका सुरेश विक बताउँछन् ।

यता, व्यापारीले पनि धूलो उस्तै रहेको र विगतमा भन्दा माक्सको व्यापार झन् बढेको बताएका छन् । ग्राहकको माग पहिलेभन्दा केही बढेको भृकुटीमण्डपका व्यापारी यज्ञ बस्नेतले बताए । ‘पैदलयात्रुले माक्सको प्रयोग पहिलेभन्दा बढी गर्नेगरेका छन्,’ उनले भने, ‘गत वर्ष यही समयमा दैनिक ४/५ सयको माक्सको व्यापार हुन्थ्यो, अहिले दैनिक ७/८ सय रुपैयाँसम्मको व्यापार भइरहेको छ ।’ अहिले पनि उपत्यकाका केही सडकमा उड्ने धूलोले मान्छे चिन्नै नसकिने स्थिति छ ।

महानगरले धूलो हटाउन बु्रमर सञ्चालन गरे पनि सीमित क्षेत्रमा मात्रै प्रयोग गरेको छ । जसका कारण धूलो कम हुन सकेको छैन ।

उपत्यकाका सडकको धूलो हटाउन यसैगरी ब्रुमर सञ्चालन गरेमा २÷३ वर्ष लाग्ने रत्नपार्कका माक्स व्यापारी रमा अधिकारी बताउँछिन् । अहिले बालाजु, चाबहिल, कलङ्की, रत्नपार्क, बसपार्क र अन्य क्षेत्रका सडकमा धूलो हट्न सकेको छैन ।

उपत्यकाबासीलाई धूवाँधूलोको समस्या विगतदेखि नै छ । अहिले सडकमा निस्कने अधिकांश पैदलयात्रुले माक्सको प्रयोग गर्ने गरेको देख्न सकिन्छ ।

सडकको धूलो हटाउन काठमाडौं महानगर र सम्बन्धित निकायले बेलैमा ध्यान नदिए भविष्यमा आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिन्छ ।