गिद्धले बच्चा कम कोरलेपछि अनुसन्धान हुँदै   

चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन् ।

चितवन । गिद्धको बच्चा हुर्काउने कार्यमा सफलता मिले पनि अन्डा (फुल)बाट बच्चा कोरल्ने कार्यमा भने आशातित सफलता मिल्न सकेको छैन । जसका कारण यस विषयमा स्वदेशी र विदेशी विज्ञले अनुसन्धान गरिरहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हालसम्म त्यहाँ रहेका गिद्धबाट ६८ वटा अन्डा पारेर १८ वटा बच्चा कोरलिएका छन् । विसं २०७१ मा पाँच वटा अन्डा पारेर एउटा बच्चा कोरलिएको थियो । विसं २०७२ मा सात अन्डा पारे पनि बच्चा कोरल्न सकेको थिएन । विसं २०७३ मा १५ वटा अन्डाको नौ बच्चा, विसं २०७४ मा २१ वटा अन्डाको सात बच्चा कोरलिएकामा विसं २०७५ मा भने २० वटा अन्डाबाट दुई वटा बच्चा मात्रै कोरलिएका थिए ।

स्थापनाको समयमा करिब तीन वर्ष लगाएर विभिन्न ठाउँबाट ६४ वटा गिद्ध ल्याई प्रजनन केन्द्रमा राखिएको थियो । त्यही हुर्किएका गिद्धमध्ये हालसम्म २० वटालाई प्रकृतिमा छाडिएको छ । सन् २०१७ मा सात पोथी र सन् २०१८ मा ८ बच्चा, तीन पोथी एवं दुई भाले गरी १३ वटालाई केही समय नवलपरासीको जटायु रेस्टुराँमा राखेर प्रकृतिमा छाडिएको हो । सन् २०१९ मा छ बच्चा, चार पोथी र तीन भाले गरी १३ वटालाई प्रकृतिमा छाड्नका लागि रेस्टुराँमा राखिएको छ । हाल प्रजनन केन्द्रमा १९ भाले, १९ पोथी र दुई वटा बच्चा छन् ।

नेपाल पक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत इसाना थापाले यस वर्षको प्रजननको समस्या देखेर आफूहरु आश्चर्यमा परेको बताइन् । यससँगै गम्भीररुपमा अनुसन्धान सुरु गरिएको उनले बताइन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष के–कस्ता कमीकमजोरी र होहल्ला (डिस्टर्ब) भएका थिए त्यसको अध्ययन भइरहेको उनले बताइन् ।

सुरुआती वर्षमा लिङ्ग पहिचान गरी भालेपोथीको अवस्थाका बारेमा अध्ययन गरेर छुट्याएर राखिएको थियो । उनका अनुसार लिङ्गअनुसार नमिलेका गिद्धलाई प्रकृतिमा छाडिएका हुन् । प्रजनन केन्द्र हेर्दै आउनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका डा विकल्प कार्कीले विदेशी विज्ञसँगसमेत यस विषयमा परामर्श गरिरहेको बताए । उनले कसरी बच्चा कोरल्ने दर बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए । रासस