युद्ध सङ्ग्रहालयको डीपीआर बनाइँदै

कालिका नगरपालिकाले डीपीआर निर्माण गर्न लागेको हो । नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार उक्त नगरपालिकाको वडा नं ८स्थित गैरीबारीमा सङ्ग्रहालय बनाउने तयारी भएको र यसका लागि आवश्यक पर्ने जग्गा प्रतिवेदनमा उल्लेख भएपछि निर्धारण गरिने छ ।

चितवन । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाइने भएको छ । कालिका नगरपालिकाले डीपीआर निर्माण गर्न लागेको हो । नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार उक्त नगरपालिकाको वडा नं ८स्थित गैरीबारीमा सङ्ग्रहालय बनाउने तयारी भएको र यसका लागि आवश्यक पर्ने जग्गा प्रतिवेदनमा उल्लेख भएपछि निर्धारण गरिने छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउनका लागि श्रेष्ठलाई आग्रह गरेका थिए । नगरप्रमुख श्रेष्ठले भने, “प्रचण्डज्यूले डीपीआर गर्न भन्नुभएको छ, हामी यथाशीघ्र डीपीआर तयार गर्छाैं ।” सबै प्रक्रिया सम्पन्न गरेर आउँदो आर्थिक वर्षबाट डीपीआरको काम सुरु गर्ने तयारी गरिएको छ । उनले आउँदो आर्थिक वर्ष बजेट विनियोजन गरी काम अगाडि बढाउन लागिएको बताए । विश्वका उत्कृष्ट युद्ध सङ्ग्राहलयसमेत अध्ययन गरेर डीपीआर तयार गरिने योजना छ ।

सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर उक्त सङ्ग्रहालयमा राखिने छ । दश वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने खालका कला कुँदेर देखाउन सकिने नगरप्रमुख श्रेष्ठले बताए । उक्त सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्त्वपूर्ण पर्यटकीय गन्तव्य स्थल बन्नसक्ने उनको भनाइ थियो ।

सो क्षेत्र पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । सङ्ग्रहालय बनेसँगै यहाँ आउने पर्यटकको बसाईं लम्बिने र पर्यटक बढ्ने अपेक्षा गरिएको छ । अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादललगायतको गृहजिल्ला हुनाका साथै देशको केन्द्रबिन्दुमा यो क्षेत्र परेकाले उक्त सङ्ग्रहालय छिटो बन्ने अपेक्षा गरिएको छ । रासस