७५ वर्षमा बल्ल नागरिकता पाइन् तुथकलीले

बृद्धा बस्नेतले २००१ वैशाख ७ मा जन्मेको भए पनि अहिलेसम्म नागरिकता बनाउनुभएको थिएन । ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा प्रशासनसम्म पुग्न कठिन भएकाले अहिलेसम्म नागरिकता प्राप्त गर्न नसकेको उनले बताइन् ।

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उहाँले सो प्रमाणपत्र बनाएकी हुन् । बृद्धा बस्नेतले २००१ वैशाख ७ मा जन्मेको भए पनि अहिलेसम्म नागरिकता बनाउनुभएको थिएन । ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा प्रशासनसम्म पुग्न कठिन भएकाले अहिलेसम्म नागरिकता प्राप्त गर्न नसकेको उनले बताइन् ।

शिविरमा २० देखि ७५ वर्ष उमेर समूहका ४१ महिला र ५१ पुरुषलाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार यहाँका बासिन्दाले सो प्रमाणपत्रको अभाबमा राज्यबाट उपलब्ध गराउने सेवा तथा सुविधाबाट बञ्चित हुन नपरोस् भनेर सेवाग्राहीको घरदैलोमा आएर नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।

आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकीकृत घुम्ती सेवा सञ्चालन गरिने उहाँको भनाइ थियो । रासस