पाल्पामा पनि फेवाताल

फेवातालको स्वरुपमा निर्मित यस कृत्रिम तालपोखरामा अहिले डुँगा सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेको छ ।

मिनी फेवातालको नामले प्रख्यात पाल्पा रामपुरको तालपोखरामा कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुँगा सञ्चालन गरिएको छ । फेवातालको स्वरुपमा निर्मित यस कृत्रिम तालपोखरामा अहिले डुँगा सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेको छ ।

स्थानीय कुलो, नहरको पानीबाट यहाँ दुईओटा डुँगा सञ्चालन गरिएको हो । डुँगा सयर गर्ने र तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिरमा पूजाआजा गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थितिले भोलिका दिनमा नियमित डुँगा सञ्चालन गर्न हालै मात्र कालीगण्डकीको पानी लिफ्टिङ गरिएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताए ।

दुई लाख १७ हजार ५४० रुपैयाँको लागतमा तालपोखरा नजिकै रहेको कालीगण्डकीको पानी यस तालमा ल्याउन सफल भएको उनले बताए । ‘हामीले सोचेभन्दा दोब्बर पर्यटकको आकर्षण बढेको पाइएपछि कुलो, नहरमा पानी कम भएका समयमा यहाँ नियमित डुँगा सञ्चालन गर्न समस्या पर्ने हुँदा कालीगण्डकीबाट लिफ्टिङ गरेर पानी ल्याएका हौँ’, उनले भने । अब यहाँ डुँगा सञ्चालनका लागि पानीको समस्या नपर्ने उनको भनाइ छ ।

बर्खायामको पानी जम्मा हुने पोखरीलाई विकसित गरी अहिले फेवातालको झल्कोस्वरुप तालका रुपमा परिणत गरिएपछि फेवातालको अनुभूति लिँदै डुँगा सयर गर्नेको दिनहुँ घुइँचो हुने गरेको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताए ।

हाल दैनिक दुई सयभन्दा बढीले डुँगा सयर गर्ने गरेको देवकोटाले बताए । समितिले तालपोखरामा डुँगा सयरका लागि २५ रुपैयाँको टिकट दर कायम गरेको छ । तालपोखरा क्षेत्रलाई यहाँका केही स्थानीय युवाले पर्यटकीय क्षेत्रका रुपमा परिकल्पना गरी यसको विकास गर्दै जाँदा अहिले यो क्षेत्र पाल्पाको रामपुरकै पर्यटकीय क्षेत्रको गन्तव्यस्थल बन्न पुगेको छ ।

रासस